काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ६ तिनपिप्लेमा विन नेपाल लघुवित्त संस्था लिमिटेड शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण तहमा वित्तीय पहुँच विस्तार र आर्थिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूबीच संस्थाले प्रदान गर्दै आएका सेवा, सुविधा तथा वित्तीय व्यवस्थापनसम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। कार्यक्रममा बचत, कर्जा व्यवस्थापन, लगानीको योजना, व्यवसाय सञ्चालन तथा आम्दानी वृद्धि गर्ने उपायबारे जानकारी दिइएको थियो।
कार्यक्रम केन्द्र नं. १ का तर्फबाट सहभागी रानुकी दनुवारको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पाँचखाल–६ तिनपिप्ले शाखाका प्रमुख राजकुमार चौधरीले संस्थाको उद्देश्य, कार्यप्रगति तथा आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात शाखा कार्यालयकी कर्मचारी चण्डीका ढुंगाना (पौडेल) को स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको प्रमुख अतिथि खतिवडाले लघुवित्त संस्थाले ग्रामीण समुदायमा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कर्जा सदुपयोग, बचतको बानी र उद्यमशीलता विकासमार्फत जीवनस्तर उकास्न सकिने बताउनुभयो। उहाँले सहभागीहरूले उठाएका जिज्ञासाहरूको समेत स्पष्टिकरण दिनुभएको थियो।
कार्यक्रममा केन्द्रीय कार्यालयका कर्जा तथा कार्यसञ्चालन विभाग प्रमुख भिमसेन माझी, फटकशिला कार्यालयका प्रतिनिधि रुपक भण्डारी, मानव संसाधन विभाग प्रमुख राजकुमार घिमिरे, सञ्चारकर्मी इश्वरी राजकुमार मैनाली, जोरपार्टी माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण सापकोटा ,सोनिया दनुवार, अनिता किसु लगायतले संस्थाको सेवा प्रभाव, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए।
सहभागीहरूले संस्थाबाट प्राप्त तालिम, परामर्श र वित्तीय सेवाका कारण आर्थिक पारदर्शिता बढेको, बचत गर्ने बानी विकास भएको र साना–ठूला व्यवसाय सञ्चालनमा सहयोग पुगेको अनुभव सुनाएका थिए। उनीहरूले लघुवित्तमार्फत आत्मनिर्भर बन्ने अवसर पाएको उल्लेख गर्दै व्यवहारिक ज्ञानले जीवनयापन सहज भएको बताएका थिए।
यद्यपि, कार्यक्रममा सहभागीहरूले हालको कर्जाको व्याजदर केही उच्च रहेको गुनासो गर्दै व्याजदरमा सहुलियत आवश्यक रहेको माग गरेका थिए। उनीहरूले सहज र सुलभ कर्जामार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सके स्थानीय आर्थिक गतिविधि अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै लघुवित्त सेवाप्रति विश्वास र सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस