काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक पुनर्निर्माण कार्यलाई तीव्रता दिन चैत ७ गतेदेखि २० गतेसम्म (१४ दिन) सवारी सञ्चालनमा आंशिक तथा पूर्ण प्रतिबन्ध लगाइएको छ। सो अवधिमा यात्रुवाहक बस एकतर्फी सञ्चालन हुने, टिपर पूर्ण रूपमा बन्द रहने र रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
सडक निर्माण कार्यका कारण यातायात सेवा प्रभावित बनेसँगै सर्वसाधारण यात्रुहरूले दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको छ। विशेषगरी यात्रुवाहक बसहरूले नियमित रुटलाई प्राथमिकता नदिई आवश्यकताका आधारमा मात्र सेवा सञ्चालन गरिरहेका कारण यात्रुहरू झनै मारमा परेका छन्। काठमाडौंबाट पाँचखालतर्फ केही बस सेवा सञ्चालन भए पनि पाँचखालबाट काठमाडौं फर्कने सवारी साधनको अभाव हुँदा यात्रुहरू अलपत्र पर्ने अवस्था सिर्जना भएको छ।
यसैबीच, पाँचखालबाट बनेपासम्मको छोटो दूरीमा इभि भ्यानहरूले अत्यधिक भाडा असुल्दै यात्रु ठगिएको गुनासो बढ्दै गएको छ। पाँचखालबाट रविओपी हुँदै बनेपासम्म करिब १३ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ, जसमा करिब दुई किलोमिटर ग्राभेल र बाँकी सडक कालोपत्रे रहेको छ। सामान्य अवस्थामा ८० रुपैयाँमा यात्रा गर्न सकिने उक्त दूरीमा हाल १५० देखि २०० रुपैयाँसम्म भाडा लिने गरिएको यात्रुहरूले बताएका छन्।
हाल पाँचखाल–बनेपा रुटमा करिब २२ वटा इभि सवारी सञ्चालनमा छन्। ती सवारीहरूले एकपटकमा २० देखि २२ जनासम्म यात्रु बोक्ने गरेका छन्। तर, यात्रुहरूले गाडी चढ्नुअघि भाडादरबारे स्पष्ट जानकारी नदिइने र चढिसकेपछि मनपरी रूपमा भाडा मागिने गरेको गुनासो गरेका छन्। भाडा बढी भएको विषयमा प्रश्न उठाउँदा बीच बाटोमै झार्ने धम्की दिने गरिएको आरोपसमेत यात्रुहरूले लगाएका छन्।
इभि भ्यान सञ्चालकहरूको यस्तो व्यवहारप्रति यात्रुहरूले विरोध जनाएपछि पाँचखाल प्रहरी चौकीमा मौखिक गुनासो पुगेको थियो। त्यसपछि प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सम्बन्धित सवारी सञ्चालकहरूसँग छलफल गर्दै यात्रुलाई ठगी नगर्न कडा निर्देशन दिएको छ।
प्रहरीले चेतावनी दिँदै नियम विपरीत भाडा असुली वा यात्रु दुर्व्यवहार गरे कडा कारबाही गरिने स्पष्ट पारेको छ। साथै, कुनै पनि प्रकारको ठगी वा असहज अवस्था सिर्जना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन यात्रुहरूलाई आग्रह गरिएको छ।
सडक पुनर्निर्माण कार्यका कारण अस्थायी रूपमा सिर्जित समस्या समाधानका लागि सम्बन्धित निकायले वैकल्पिक यातायात व्यवस्थापन तथा भाडा नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस