२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

चण्डी पूर्णिमामा पलाञ्चोक भगवती झन् चम्किँदै: दुईदिने सांस्कृतिक महोत्सव


९६९९ पाठक संख्या
  • २०८३ बैशाख ३, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पलाञ्चोक भगवती क्षेत्रमा यस वर्ष पनि चण्डी पूर्णिमाको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना हुने भएको छ। पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिर परिसरमा हुने उक्त कार्यक्रम वैशाख १८ र १९ गते सञ्चालन गरिने आयोजकले जनाएका छन्।

    वि.सं. ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापना भएको मानिने यस मन्दिर क्षेत्र धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्रका रूपमा परिचित छ। यहाँ प्रत्येक वर्ष चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा विशेष जात्रा, पूजा तथा रथयात्रा आयोजना गरिँदै आएको छ। तीन दिनसम्म चल्ने परम्परागत जात्रामा पहिलो दिन बत्ती बाल्ने, दोस्रो दिन मुख्य पूजा तथा सांस्कृतिक कार्यक्रम र तेस्रो दिन रथयात्रा गरिने चलन रहिआएको छ।

    यस वर्षको कार्यक्रमअन्तर्गत वैशाख १७ गते साँझ बत्ती बाल्ने कार्यक्रम रहनेछ भने वैशाख १८ गते बिहान ११ बजे प्रमुख अतिथिबाट औपचारिक उद्घाटन गरिनेछ। कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख, उप–प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। दोहोरी गीत, तामाङ सेलो, नेवारी भाषा गीत तथा विविध लोकसंस्कृति झल्कने सांगीतिक प्रस्तुति समावेश गरिनेछ। साथै, पाँचखाल नगरभित्रका विद्यालयका विद्यार्थीहरूले पनि सांस्कृतिक नृत्य प्रस्तुत गर्ने अवसर पाउनेछन्।

    आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु, स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु, नयाँ पुस्तालाई सांस्कृतिक धरोहरसँग जोड्नु तथा स्थानीय कलाकारलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु रहेको छ। यसैगरी, कार्यक्रमले पलाञ्चोक भगवती मन्दिरको प्रचार–प्रसार गर्दै स्थानीय कृषि उत्पादन र व्यापार व्यवसायलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रमका लागि करिब ११ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। जसअन्तर्गत स्टेज तथा साउन्ड सिस्टम, कलाकार पारिश्रमिक, प्रचार–प्रसार, अतिथि सत्कार, सरसफाइ तथा व्यवस्थापन लगायतका शीर्षकमा खर्च गरिनेछ। पाँचखाल नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ भने बाँकी रकम स्थानीय सहकारी, व्यवसायी तथा समाजसेवीबाट संकलन गरिनेछ।

    कालिका युवा क्लब, एकता युवा क्लब, एकीकृत पहरी युवा क्लब, श्री पलाञ्चोक गुठीगाउँ युवा क्लब तथा धन्द्रेखोला नेवाः समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न हुन लागेको हो।

    गत वर्षको कार्यक्रम अत्यन्त सफल भएको आयोजकले जनाएको छ। हजारौं दर्शकको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय व्यापार व्यवसायमा उल्लेखनीय वृद्धि हुनुका साथै सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुगेको थियो।

    आयोजकले यस वर्षको कार्यक्रम अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाउँदै सम्पूर्ण श्रद्धालु, दर्शक तथा सरोकारवालालाई सहभागिताका लागि आग्रह गरेका छन्।

     २०८२ सालको सांस्कृतिक कार्यक्रमको समीक्षा

    • वैशाख २९ गते नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन
    • राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा उत्कृष्ट सांस्कृतिक प्रस्तुति
    • २४ घण्टे जात्राको संरक्षणमा उल्लेखनीय योगदान
    • इतिहासकै सबैभन्दा बढी दर्शक सहभागिता
    • स्थानीय व्यापार व्यवसायमा वृद्धि
    • विद्यालयस्तरबाट सांस्कृतिक नृत्य प्रस्तुति
    • पाँचखाल नगरपालिकाबाट रु. ५ लाख सहयोग
    • सहकारी तथा स्थानीय व्यवसायीबाट आर्थिक सहयोग
    • इन्द्रेणी समूह लगायतका आकर्षक प्रस्तुति

     कार्यक्रमका उद्देश्य

    • आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु
    • परम्परागत कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन
    • नयाँ पुस्तालाई सांस्कृतिक धरोहरसँग जोड्नु
    • स्थानीय कलाकारलाई अवसर प्रदान गर्नु
    • पलाञ्चोक भगवती मन्दिरको प्रचार–प्रसार गर्नु
    • कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु

    २०८३ अनुमानित बजेट (रु. ११ लाख)

    शीर्षक रकम
    साउन्ड सिस्टम तथा स्टेज ३,००,०००
    कलाकार तथा स्वयंसेवक व्यवस्थापन १,००,०००
    कलाकार पारिश्रमिक ३,००,०००
    प्रचार–प्रसार ५०,०००
    उद्घाटन तथा अतिथि सत्कार १,००,०००
    मिडिया व्यवस्थापन ५०,०००
    पानी, सरसफाइ ५०,०००
    कार्यालय खर्च १,००,०००
    बत्ती व्यवस्थापन ३०,०००

    कार्यक्रम तालिका (२०८३)

    • वैशाख १७ गते: साँझ बत्ती बाल्ने कार्यक्रम
    • वैशाख १८ गते: बिहान ११ बजे उद्घाटन समारोह
    • प्रमुख अतिथि, जनप्रतिनिधि, सुरक्षा निकाय तथा विशिष्ट व्यक्तिहरूको सहभागिता
    • राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम
    • वैशाख १९ गते: रथयात्रा पश्चात कार्यक्रम समापन

    आयोजक संस्था

    • कालिका युवा क्लब
    • एकता युवा क्लब
    • एकीकृत पहरी युवा क्लब
    • श्री पलाञ्चोक गुठी गाउँ युवा क्लब
    • धनेश्वर नेवाः समाज

    अपेक्षित उपलब्धि

    • लोपोन्मुख जात्राको संरक्षण
    • स्थानीय प्रतिभालाई अवसर
    • पर्यटन प्रवर्द्धन
    • धार्मिक स्थलको प्रचार–प्रसार
    • स्थानीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण

      यस वर्षको विशेषता

      १. चण्डी पूर्णिमा बृहत् सांस्कृतिक कार्यक्रम २०८३
      – विशेष प्रस्तुति सहित भव्य आयोजना

      २. लाइभ दोहोरी कार्यक्रम
      – उपस्थित दर्शकले पनि प्रत्यक्ष रूपमा दोहोरी गाउन सक्ने व्यवस्था
      – समयको आधारमा उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार प्रदान गरिने

      ३. कार्यक्रम स्थलमा प्रवेश निःशुल्क रहने

      ४. बालबालिका केन्द्रित रमाइला खेल तथा गतिविधि सञ्चालन गरिने

      ५. यस वर्षका चर्चित कलाकारहरूको प्रस्तुति
      – रचना रिमाल
      – समिर लामिछाने
      – टिका प्रसाई
      – मिलन जोशी
      – रञ्जिता वाग्ले
      – राजेश पायल
      – विशाल काल्तान
      – दिया कड्का
      – रति खड्का

    पलाञ्चोक भगवती क्षेत्रमा आयोजना हुने यो बृहत् सांस्कृतिक कार्यक्रमले स्थानीय परम्परा, धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकार, प्रायोजक तथा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहयोग आवश्यक रहेको आयोजकहरूले जनाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार