२०८३ जेष्ठ २३, शनिबार | Sat, 06, Jun, 2026

बन्दुक पड्किएझैँ आवाज निकाल्ने बाइक कारबाहीमा


१११९ पाठक संख्या
  • २०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित ९ घण्टा अघि
  • बागलुङ, जेठ २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने तथा ध्वनि प्रदूषण फैलाउने मोटरसाइकलविरुद्ध कडा निगरानी र कारबाही अभियान सञ्चालन गरेको छ। पछिल्लो समय बागलुङ बजार तथा आसपासका क्षेत्रमा विशेषगरी रातिको समयमा मोटरसाइकलबाट अत्यधिक आवाज निकाल्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सर्वसाधारणको शान्ति भंग गर्ने गतिविधि बढ्न थालेपछि ट्राफिक प्रहरीले अभियानलाई तीव्र बनाएको हो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरका अनुसार पछिल्ला दुई दिनमा मात्र स्वरूप परिवर्तन गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। ट्राफिक जाँचका क्रममा मोटरसाइकलमा जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायतका पुर्जा परिवर्तन गरिएको भेटिएपछि ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको उनले बताए।

    उनका अनुसार पछिल्ला वर्षहरूमा युवामाझ मोटरसाइकललाई आकर्षक देखाउने नाममा प्राविधिक मापदण्डविपरीत परिवर्तन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता परिवर्तनले सवारीसाधनको सुरक्षा प्रणालीमा असर पार्नुका साथै अत्यधिक ध्वनि उत्पन्न गरी वातावरण तथा मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने गरेको प्रहरीको निष्कर्ष छ।

    प्रमुख कुँवरले चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण सर्वसाधारणबाट पटक–पटक गुनासो आउने गरेको बताए। “बजार क्षेत्रमा विशेषगरी रातिको समयमा बन्दुक पड्किएको जस्तै आवाज निकालेर मोटरसाइकल चलाउने क्रम बढेको छ। यसले नागरिकको शान्ति भंग गर्नुका साथै ध्वनि प्रदूषणसमेत बढाएको छ। जनगुनासो बढेपछि हामीले निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेका हौँ,” उनले भने।

    ट्राफिक प्रहरीले कारबाहीमा परेका मोटरसाइकलमा जडान गरिएका गैरमापदण्डीय तथा अवैध रूपमा फेरिएका पार्टपुर्जा हटाएर पुनः कम्पनीले निर्धारण गरेको मापदण्डअनुसारका पुर्जा जडान गर्न लगाएको जनाएको छ। यसबाट सवारीसाधनलाई सुरक्षित तथा कानुनसम्मत बनाउने प्रयास गरिएको प्रहरीको भनाइ छ।

    ध्वनि प्रदूषणले स्वास्थ्यमा असर

    प्रहरीका अनुसार मोडिफाइ साइलेन्सरबाट निस्कने अस्वाभाविक र तीव्र आवाजले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा संवेदनशील क्षेत्रका बासिन्दालाई प्रत्यक्ष असर पुर्‍याउने गरेको छ। अस्पताल, विद्यालय, धार्मिकस्थल तथा घना बस्ती क्षेत्रमा यस्ता आवाजले मानसिक तनाव, निद्रा समस्या तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूको समेत सुझाव रहेको छ।

    बागलुङ नगरपालिका–२ का स्थानीयवासी कृष्ण श्रेष्ठले रातिको समयमा अत्यधिक आवाज निकालेर मोटरसाइकल चलाउने प्रवृत्तिले नागरिकलाई हैरानी दिएको बताए। “राति सुतिरहेको बेला अचानक बन्दुक पड्किएजस्तो आवाज आउँदा झस्किनुपर्ने अवस्था छ। वृद्धवृद्धा, बालबालिका तथा मुटुरोगीलाई यसले झन् बढी असर गर्छ। प्रहरीले थालेको अभियान प्रशंसनीय छ र यसलाई निरन्तरता दिनुपर्छ,” उनले भने।

    कानुनमा कडा सजायको व्यवस्था

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। ऐनअनुसार मापदण्डविपरीत सवारीसाधन परिमार्जन गरी चलाएको पाइएमा रु. ७ हजारदेखि रु. १५ हजारसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ।

    ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म विभिन्न ट्राफिक नियम उल्लङ्घनका घटनामा दुई हजार ९०० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको छ। यस अवधिमा ट्राफिक सचेतना कार्यक्रम, नियमित चेकजाँच तथा विशेष निगरानी अभियानमार्फत सडक अनुशासन कायम गर्ने प्रयास जारी रहेको कार्यालयले जनाएको छ।

    अभियान अझ प्रभावकारी बनाइने

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आगामी दिनमा पनि मोडिफाइ सवारीसाधन, ध्वनि प्रदूषण, तीव्र गति, हेल्मेटको प्रयोग नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध विशेष अभियान सञ्चालन गरिने जनाएको छ। प्रहरीले सुरक्षित, सभ्य र अनुशासित यातायात प्रणाली निर्माणका लागि नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कानुनविपरीत सवारीसाधन सञ्चालन नगर्न चालकलाई आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु