२०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

अदालतमा न्याय मरेको अवस्था छ’— काभ्रे बार अध्यक्ष दाहाल


१५३५ पाठक संख्या
  • २०८३ अषाढ ६, शनिबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । असार ६ । काभ्रेपलाञ्चोक बार एसोसिएसनका अध्यक्ष हरिशरण दाहालले वर्तमान न्यायालयको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अदालतहरू निर्भीक रूपमा न्याय सम्पादन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले न्यायालयभित्र बढ्दो भय र निष्क्रियताले न्याय प्रणालीप्रति नागरिकको विश्वास कमजोर बनाएको बताउनुभयो।

    सम्पादक समाज नेपालद्वारा शनिबार पनौतीस्थित होटल डाइमण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्मको अवस्था हेर्दा न्यायिक प्रणाली चुनौतीपूर्ण मोडमा पुगेको धारणा व्यक्त गर्नुभयो।

    “अदालत आफैँ डराइरहेको अवस्था छ। न्यायाधीशहरूले न्यायिक मन प्रयोग गरेर निर्भीक ढंगले फैसला गर्न सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “आजको अवस्था हेर्दा न्याय मरेको जस्तो अनुभूति हुन्छ।”

    उहाँले न्यायाधीश नियुक्तिका प्रक्रिया र न्यायालयभित्र देखिएका विभिन्न प्रवृत्तिले न्याय सम्पादनमा असर पुर्‍याएको दाबी गर्नुभयो। समाजमा विध्वंस र विद्वेष फैलाउने गतिविधिविरुद्ध न्यायालयले दृढतापूर्वक उभिनुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँको भनाइ थियो।

    अध्यक्ष दाहालले काभ्रेपलाञ्चोकमा जेन्जी आन्दोलनका क्रममा भएको घर तोडफोड तथा आगजनीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान र प्रमाण हुँदाहुँदै पनि अपेक्षित न्यायिक प्रक्रिया अघि बढ्न नसकेको गुनासो गर्नुभयो। यसले न्याय प्रणालीप्रति नागरिकमा निराशा बढाएको उहाँको भनाइ थियो।

    कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रभित्र देखिएका चुनौती र विकृतिमाथि पनि टिप्पणी गर्नुभयो। दर्ताविहीन अनलाइन माध्यमहरू बढ्दै गएको तथा सत्य र तथ्यभन्दा ‘भ्युज’ केन्द्रित सामग्री उत्पादन गर्ने प्रवृत्तिले समाजमा नकारात्मक असर पारिरहेको उहाँले बताउनुभयो।

    “कुन शीर्षक राख्दा बढी भ्युज आउँछ भन्ने प्रतिस्पर्धा बढेको छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा केही हरफ पढेर सम्पूर्ण विषय बुझेझैँ गर्ने प्रवृत्ति पनि समाजका लागि चुनौती बनेको छ।”

    प्रेस काउन्सिल नेपालले दर्ताविहीन तथा भ्रामक सामग्री प्रकाशन गर्ने सञ्चार माध्यमको प्रभावकारी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    देशको समग्र राजनीतिक तथा प्रशासनिक अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले जिम्मेवार पत्रकारिता र सत्य–तथ्यमा आधारित सूचना प्रवाहको आवश्यकता औँल्याउनुभयो। सञ्चार क्षेत्रले बेथिति, विकृति र संस्थागत कमजोरीहरूलाई उजागर गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले न्यायालयभित्रका समस्या र न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा समेत खोजमूलक पत्रकारिता आवश्यक रहेको धारणा राख्नुभयो।

    नागरिक समाज र कानुन व्यवसायीहरूको तर्फबाट न्याय, सुशासन र उत्तरदायित्व प्रवर्द्धनका लागि काभ्रे बार एसोसिएसन सदैव सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत अध्यक्ष दाहालले व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार