काभ्रे, १७ असार — काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ९ः३० बजे पाँचखालको भित्री सडकबाट मुख्य राजमार्ग क्रस गर्ने क्रममा प्रदेश ३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसे (सिन्धुपाल्चोक) तर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका–१ घर भई हाल पाँचखालस्थित एक माइक्रोफाइनान्स संस्थामा कार्यरत करिब २४ वर्षीया मिनकुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको भए पनि बिहान १०ः४८ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभीमा सवार आठ यात्रुमध्ये सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ निवासी ६५ वर्षीय गोपाल भुजेल पनि घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पाँचखालको नियन्त्रणमा रहेका छन्। ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ निवासी ४३ वर्षीय कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस