२०८३ अषाढ १७, बुधबार | Wed, 01, Jul, 2026

काठमाडौं विश्वविद्यालयको दीक्षान्त असार १९ मा, १,५२७ विद्यार्थीले लिने उपाधि


७८१ पाठक संख्या
  • २०८३ अषाढ १७, बुधबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्नो ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) आगामी असार १९ गते शुक्रबार धुलिखेलस्थित केन्द्रीय परिसरमा आयोजना गर्ने भएको छ। समारोहमा विश्वविद्यालयका सातवटा स्कुलअन्तर्गत अध्ययन पूरा गरेका १ हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयको १०२औँ सभाले दीक्षान्त समारोहसम्बन्धी प्रस्ताव अनुमोदन गरेपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. हृषीकेश वाग्ले, रजिस्ट्रार प्रा.डा. राजीव श्रेष्ठ तथा प्रवक्ता डा. उद्धवप्रसाद प्याकुरेलले समारोहको तयारी, विशेषता र विश्वविद्यालयका आगामी योजनाबारे जानकारी दिएका हुन्।

    उपकुलपति प्रा.डा. वाग्लेले काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षालाई थप सुदृढ बनाउँदै अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा निरन्तर जोड दिइरहेको बताए। उनले यस वर्षको दीक्षान्त विश्वविद्यालयका लागि विशेष रहेको उल्लेख गर्दै विश्वविद्यालयको इतिहासमै पहिलोपटक केही नयाँ शैक्षिक कार्यक्रमका विद्यार्थीले उपाधि प्राप्त गर्न लागेको जानकारी दिए।

    उनका अनुसार मेडिकल साइन्सेजअन्तर्गत नयाँ शिक्षण अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ। यस परियोजनाका लागि एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भइसकेको छ, जसअन्तर्गत २ अर्ब रुपैयाँ अनुदान र २ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यसमेत अघि बढिसकेको उनले बताए।

    रजिस्ट्रार प्रा.डा. राजीव श्रेष्ठका अनुसार दीक्षान्त समारोह बिहान १० बजेदेखि विश्वविद्यालयको केन्द्रीय परिसरमा सुरु हुनेछ। समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा.डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नेछन्। समारोहको अध्यक्षता शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन्।

    प्रवक्ता डा. उद्धवप्रसाद प्याकुरेलका अनुसार यसपटक स्कुल अफ मेडिकल साइन्सेजका ५०४, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ साइन्सका २०७, स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ एजुकेशनका ११२ तथा स्कुल अफ लका ४२ विद्यार्थी दीक्षित हुनेछन्।

    दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि (पीएचडी), ९३ जना अनुसन्धानमुखी स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, दुई जना स्नातकोत्तर डिप्लोमा तथा १ हजार १३२ जना स्नातक तहका विद्यार्थी रहेका छन्। यसमा ८०० पुरुष र ७२७ महिला विद्यार्थी सहभागी हुनेछन्।

    विश्वविद्यालयका अनुसार अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विदेशी विद्यार्थीले पनि उपाधि प्राप्त गर्नेछन्। यो संख्या कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत रहेको र अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशतले बढी भएको जनाइएको छ।

    यस वर्षको दीक्षान्तको अर्को विशेषता भनेको विश्वविद्यालयको इतिहासमै पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डक्टर अफ मेडिसिन इन नियोनेटोलोजी तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलिकुलर बायोलोजी कार्यक्रमका विद्यार्थीले समेत उपाधि प्राप्त गर्नु हो।

    यो दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुने विद्यार्थीको संख्या ५१ हजार ५६७ पुग्नेछ। तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन विश्वविद्यालयबाट हालसम्म स्नातक भएका कुल विद्यार्थीको करिब १२ प्रतिशत हो।

    समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई स्वर्ण पदक समेत प्रदान गरिनेछ। स्नातक तहमा सर्वाधिक सीजीपीए प्राप्त गर्ने रिश्ता श्रेष्ठ उपकुलपति स्वर्णपदकबाट सम्मानित हुनेछन् भने स्कुल अफ एजुकेशनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा उत्कृष्ट सीजीपीए हासिल गर्ने अन्जु कुमारी महेशनाथ पराजुली पनि स्वर्णपदकबाट सम्मानित हुने विश्वविद्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार