काठमाडौं, १९ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै संघीय संरचनालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले सुधार (रेट्रोफिट) सम्बन्धी बहस अघि सारेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेज गर्ने प्रस्ताव नरहेको स्पष्ट पारे।
उनले रास्वपाले प्रदेश खारेजीको एजेन्डा अघि नबढाएको दाबी गर्दै अहिलेको संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताए। उनका अनुसार रास्वपाले प्रदेश संरचनालाई “रेट्रोफिट” अर्थात् सुधार र पुनर्संरचना गरेर नागरिकको अपेक्षाअनुसार परिणाममुखी बनाउने प्रस्ताव मात्र अघि सारेको हो।
लामिछानेले संविधानका विभिन्न व्यवस्थामाथि समयानुकूल समीक्षा र बहस आवश्यक रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारिताबारे पनि खुला छलफल हुनुपर्ने धारणा राखे। उनले भने, “हामीले प्रदेश खारेजी भनेर कहीँ पनि लेखेका छैनौँ। प्रदेश संरचनालाई प्रभावकारी बनाउन रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ। यसको आवश्यकता सबैले महसुस गरेका छन्।”
उनले प्रदेश संरचनामाथिको बहस रास्वपाले मात्र उठाएको विषय नभएको पनि बताए। उनका अनुसार विगतमा विभिन्न पुराना राजनीतिक दलका नेताहरूले समेत प्रदेश खारेज गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। तर रास्वपाको उद्देश्य भने संरचना हटाउने नभई त्यसलाई सुधार गरेर जनउत्तरदायी र प्रभावकारी बनाउने रहेको उनले स्पष्ट पारे।
लामिछानेले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै संघीयताको मूल मर्मलाई कमजोर बनाउने होइन, त्यसलाई अझ सुदृढ, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा सुधार आवश्यक रहेको बताए।
उनले प्रदेश संरचनाको कार्यसम्पादन, खर्च, अधिकार र नागरिकलाई दिने सेवाको गुणस्तरबारे गम्भीर बहस हुनुपर्ने उल्लेख गर्दै त्यसलाई राजनीतिक विवादको विषयभन्दा पनि सुशासन र प्रभावकारितासँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे।





प्रतिक्रिया दिनुहोस