२०८३ अषाढ १९, शुक्रबार | Fri, 03, Jul, 2026

१४० टन भग्नावशेषमुनि आठ दिन बिताएका गिल जीवितै उद्धार


९३७ पाठक संख्या
  • २०८३ अषाढ १९, शुक्रबार मा प्रकाशित १६ घण्टा अघि
  • काठमाडौं, १९ असार — भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको करिब १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। घटनालाई हालसम्मकै सबैभन्दा चुनौतीपूर्ण उद्धार अभियानमध्ये एक मानिएको छ।

    बीबीसीका अनुसार उद्धार गरिएका व्यक्ति हर्नान गिल हुन्। उद्धारकर्मीहरूले उनको अवस्थिति पत्ता लगाएको एक सय घण्टाभन्दा बढी समयपछि अत्यन्त जटिल प्राविधिक अभियान सञ्चालन गरी उनलाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्।

    गत जुन २४ मा भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म करिब २ हजार ३ सय जनाको मृत्यु पुष्टि भएको छ भने दशौं हजार मानिस अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर जारी छ।

    गिलको उद्धारमा संलग्न चिलीका एक अग्निनियन्त्रकले आफ्नो सेवाकालमा यो सबैभन्दा जटिल प्राविधिक उद्धार अभियान रहेको बताए। उनका अनुसार भग्नावशेषको अस्थिर अवस्था र निरन्तर जोखिमका बीच उद्धार कार्य सम्पन्न गरिएको थियो।

    कोस्टारिकाको रेडक्रसमा कार्यरत प्यारामेडिक एलन माड्रिगलले भग्नावशेषभित्रबाट पहिलो पटक आएको गिलको क्षीण आवाज आफूले सुनेको स्मरण गर्दै भने, “त्यो अत्यन्त भावुक क्षण थियो। सुरुमा आफ्नै कानलाई विश्वास लागेन। मैले सहकर्मीलाई बोलाएर मैले वास्तवमै आवाज सुनेको हो कि होइन भनेर पुष्टि गर्न भनेको थिएँ।”

    त्यसपछि उद्धार टोलीले गिलसम्म सुरक्षित रूपमा पुग्ने योजना बनाएर अभियानलाई तीव्र बनाएको थियो।

    भूकम्प आएको समयमा गिल कातिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डे सपिङ मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कङ्क्रिट सुरक्षा कक्षमा ड्युटीमा थिए। प्रारम्भिक अनुसन्धानअनुसार उक्त सुरक्षा कक्षले सुरक्षात्मक आवरणको काम गरेकाले उनीमाथि खसेको विशाल भग्नावशेषबाट जोगिन सफल भएका थिए।

    उद्धारकर्मीहरूले सानो प्वाल बनाएर उनलाई नियमित रूपमा पानी उपलब्ध गराउनुका साथै चिकित्सकहरूले सलाइनसमेत दिएका थिए। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल तथा संयुक्त राज्य अमेरिकाका उद्धार टोलीहरू संयुक्त रूपमा खटिएका थिए।

    गिलसम्म पुग्न बनाइएका पहुँच सुरुङका केही भाग पटक–पटक भत्किँदा उद्धार अभियान थप जोखिमपूर्ण बनेको थियो। लामो प्रयासपछि उद्धार टोलीले उनीसँग प्रत्यक्ष दृश्य सम्पर्क स्थापित गरेको थियो।

    भग्नावशेषभित्र पठाइएको सानो क्यामेराबाट खिचिएको भिडियोमा गिलको एउटा आँखा रातो देखिएको थियो। धुलोबाट जोगाउन उद्धारकर्मीहरूले उनलाई मास्क र आँखाको सुरक्षाका लागि चस्मासमेत उपलब्ध गराएका थिए।

    मेक्सिको रेडक्रसका उद्धारकर्मी मार्को एन्टोनियो फ्रान्कोले गिललाई “उत्साही र हँसिलो व्यक्ति” भन्दै अत्यन्त कठिन परिस्थितिमा पनि उनले आशा नहारेर उद्धार टोलीसँग निरन्तर संवाद कायम राखेको बताए।

    आठ दिनसम्म भग्नावशेषभित्र जीवनसँग संघर्ष गरेका गिलको सफल उद्धारलाई भूकम्पपछिको उद्धार इतिहासकै दुर्लभ र प्रेरणादायी घटनामध्ये एकका रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार