२०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

मुग्लिन–नारायणगढ सडकमा ठूलाे दुर्घटना, दुई बस र ट्रक ठोक्किँदा २५ भन्दा बढी घाइते


९३७ पाठक संख्या
  • २०८३ श्रावण ३, आईतबार मा प्रकाशित १७ घण्टा अघि
  • चितवन, ३ साउन — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक शनिबार बिहान दुईवटा बस र एक ट्रक आपसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको अर्को बस ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो। दाङतर्फ जाँदै गरेको बसको नम्बर भने खुल्न बाँकी रहेको छ। उक्त बसका चालक गम्भीर घाइते भएका छन्।

    दुर्घटनापछि केही समय मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको उद्धार टोली र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। अहिले सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

    यसअघि अविरल वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गराएको थियो। आइतबार बिहान ६ बजे सडक खुला गरिएलगत्तै सवारीसाधनको अत्यधिक चाप र लेन अनुशासन उल्लङ्घनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

    सडक डिभिजन कार्यालयले वर्षायाममा विशेष सतर्कता अपनाउन, निर्धारित लेनको पालना गर्न र सीमित गतिमा मात्रै सवारी सञ्चालन गर्न सबै चालकलाई पुनः आग्रह गरेको छ।

    प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ भने घाइतेको यकिन संख्या र दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार