२९ असार, काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त सडक खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन स्थगित गरिएको जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुवैतर्फ अवरुद्ध बनेको छ। त्यस्तै, सेती दोभान क्षेत्रमा माथिबाट लेदो खसेपछि सवारीसाधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सोमबार साँझ करिब साढे ७ बजेदेखि निरन्तर भारी वर्षा भइरहेका कारण पहिरो हटाउने कार्यसमेत प्रभावित भएको छ। वर्षा नरोकिएकाले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको उनले बताए।
प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै सडक सञ्चालनसम्बन्धी आधिकारिक सूचना आएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस