२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

चिनियाँ नागरिक छुटाइदिने प्रलोभनमा लाखौं ठगी, पूर्व सुरक्षा अधिकारीसहित तीन पक्राउ


८०७ पाठक संख्या
  • २०८३ श्रावण ६, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाइदिने’ र बरामद राहदानीसमेत फिर्ता गराइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा उदयपुर कटारी घर भई ललितपुर बस्ने ३८ वर्षीय बिक्रमबहादुर थापा, पश्चिम नवलपरासी घर भई ललितपुर बस्ने ५९ वर्षीय गोपालकुमार गुरुङ र सर्लाही घर भई काठमाडौं बस्ने ५२ वर्षीय नारदप्रसाद खतिवडालाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार असार १२ गते ललितपुरको सानेपाबाट पक्राउ परेर अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाइदिने र विभागले बरामद गरेका १५ थान राहदानीसमेत फिर्ता दिलाइदिने आश्वासन दिँदै उनीहरूले चिनियाँ नागरिकका नेपाली साझेदारबाट ९ लाख रुपैयाँ असुलेका थिए।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीका अनुसार आरोपितहरूले चिनियाँ नागरिक र राहदानी छुटाइदिने नाममा ७२ लाख रुपैयाँ लेनदेन गर्ने गरी मोलमोलाइसमेत गरेका थिए। अनुसन्धान टोलीले उनीहरूलाई साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    पक्राउ परेका गोपालकुमार गुरुङ सशस्त्र प्रहरी बलका पूर्व एसएसपी रहेको खुलेको छ। उनी २०५८ सालमा नेपाल प्रहरीको नायब निरीक्षकबाट सशस्त्र प्रहरीमा सरुवा भई एसएसपी पदबाट अवकाशप्राप्त भएका थिए।

    यस्तै, अर्का आरोपी नारदप्रसाद खतिवडा कलाकारका रूपमा परिचित व्यक्ति हुन् भने बिक्रमबहादुर थापा बैंकिङ कसुरसम्बन्धी १२ लाख २५ हजार रुपैयाँको मुद्दामा फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    प्रहरीले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको जनाएको छ। घटनाबारे काठमाडौं प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार