भद्रपुर (झापा), साउन १२ गते । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृतावस्थामा फेला परेकी छन्। सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गानाको शव विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतक ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालयको आवासीय भवनमा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र ढुङ्गाना दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कमा नआएपछि उनीहरूको खोजी गरिएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्कसमेत हुन सकेको थिएन।
प्रधानाध्यापक लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि साँझ करिब ४:३० बजे रतन गुप्ताले आफ्नै वाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया अघि बढाइदिन अनुरोध गरिएको थियो।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहेका छन्।
प्रहरी नायब उपरीक्षक अवाले विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। शव परीक्षणका लागि पठाइएको छ भने घटनाका सबै पक्षलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको छ। सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे निष्कर्षमा पुग्न पोस्टमार्टम प्रतिवेदन, प्राविधिक प्रमाण तथा अन्य तथ्यहरूको विश्लेषण भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस