२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

संसद् सञ्चालनलाई प्रभावकारी बनाउन सभामुख अर्याल र अध्यक्ष दाहालको भेट


९६३ पाठक संख्या
  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • काठमाडौं, साउन १३ । दुई सातापछि संघीय संसद्को बैठक पुनः सुरु हुन लागेका बेला सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटवार्तामा संघीय संसद्का समसामयिक विषय, प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय तथा विधेयकहरूको प्रभावकारी व्यवस्थापनबारे विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

    संघीय संसद्को बैठक दुई सातादेखि स्थगित रहेकोमा बिहीबारदेखि प्रतिनिधिसभाको बैठक पुनः सञ्चालन हुँदैछ। यही पृष्ठभूमिमा संसद्को कार्यसूचीलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेतृत्वबीच छलफल भएको हो।

    यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन–२०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने विधेयक र संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक संसद्मा दर्ता गरिनेछ।

    त्यसैगरी राहदानी ऐन–२०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलाप ऐन–२०६८ संशोधन विधेयक तथा कर्मचारीसम्बन्धी ऐन–२०१९ संशोधन विधेयक पनि संसद्मा पेस गर्ने तयारी गरिएको छ।

    संसद्मा एकैपटक महत्वपूर्ण विधेयकहरूको प्रवेश हुन लागेका बेला सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भएको यो भेटलाई आगामी संसदीय कार्यसूचीलाई व्यवस्थित र प्रभावकारी बनाउने तयारीका रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु