२०८३ श्रावण २३, शनिबार | Sat, 08, Aug, 2026

काभ्रे जिल्ला सहकारी संघको नाफा उत्साहजनक, कृषि क्षेत्रमा लगानी बढाउने तयारी


२४९७ पाठक संख्या
  • २०८३ श्रावण २३, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक केन्द्र बनेपा–७, गोदामचोकमा रहेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट एवं कार्ययोजना सार्वजनिक गरेको छ।

    संघले गत आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसारका कार्यक्रम कार्यान्वयनसँगै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत प्रभावकारितालाई प्राथमिकतामा राखेको जनाएको छ। संघले तय गरेको लक्ष्यभन्दा प्रगति उत्साहजनक रहेको समीक्षा कार्यक्रममा प्रस्तुत विवरणले देखाएको छ।

    संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षका गतिविधि, आर्थिक अवस्था तथा उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमका विषयमा विस्तृत छलफल गरिएको थियो।

    कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघका गतिविधिलाई परिणाममुखी र दीर्घकालीन प्रभाव पार्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “जति काम गरिन्छ, त्यो देखिने र परिणाम दिने खालको हुनुपर्छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन ढंगले काम गर्नु आजको आवश्यकता हो।”

    उहाँले संघका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति तथा जिम्मेवार पदाधिकारीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै अनावश्यक खर्च कटौती र वित्तीय अनुशासन कायम गर्दै संघलाई करिब २५ प्रतिशत नाफामा सञ्चालन गर्न सफल भएको जानकारी दिनुभयो।

    अध्यक्ष श्रेष्ठले संघको संस्थागत विकाससँगै जिल्लाको समग्र सहकारी क्षेत्रको विकासमा समेत संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले उपसमितिहरूलाई जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्न आग्रह गर्दै आगामी दिनमा देखिने र मापन गर्न सकिने परिणाममा आधारित कार्यक्रमलाई प्राथमिकता दिने धारणा व्यक्त गर्नुभयो।

    ५८८ सहकारी संघमा आबद्ध

    संघको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम, बजेट एवं कार्ययोजना संघका प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।

    प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहबाट हालसम्म ५८८ वटा सहकारी संस्था जिल्ला सहकारी संघमा आबद्ध रहेका छन्। आबद्ध सहकारी संस्थामध्ये बचत तथा ऋण सहकारी संस्थाको संख्या सबैभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो।

    पालिकागत रूपमा हेर्दा संघमा सबैभन्दा धेरै सहकारी संस्था बनेपा नगरपालिकाबाट आबद्ध भएका छन्। बनेपाबाट मात्रै २०२ वटा सहकारी संस्था संघमा आबद्ध रहेका छन्। त्यसैगरी सबैभन्दा कम भुम्लु गाउँपालिकाबाट ११ वटा सहकारी संस्था संघमा आबद्ध रहेको विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो।

    जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सहकारी संस्थाबीच समन्वय, सहकारीको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अनुशासन तथा सदस्यको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले संघले आगामी कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ।

    १६ करोडभन्दा बढी पूँजी, १ अर्ब ४७ करोडको सम्पत्ति

    संघले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संघको कूल पूँजी १६ करोड ४१ लाख २ हजार ६६० रुपैयाँ रहेको छ।

    संघको कूल दायित्व १३ करोड १९ लाख ५६ हजार रुपैयाँ रहेकोमा भुक्तानी गर्नुपर्ने रकम ३० लाख ८ हजार २१८ रुपैयाँ रहेको जनाइएको छ।

    त्यस्तै संघको कूल सम्पत्ति १ अर्ब ४७ करोड ९९ लाख ७७ हजार ७४३ रुपैयाँ पुगेको छ। संघले सहकारी क्षेत्र तथा सदस्य संस्थाहरूको आवश्यकता सम्बोधन गर्ने क्रममा गरेको कर्जा लगानी ३३ करोड २४ लाख ३ हजार ७६० रुपैयाँ पुगेको विवरण प्रस्तुत गरिएको छ।

    १ करोड ५५ लाखभन्दा बढी नाफा

    संघले गत आर्थिक वर्षमा १ करोड ५५ लाख ५३ हजार ९९४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ। संघका अनुसार निर्धारित लक्ष्यअनुसारका अधिकांश सूचकमा उल्लेखनीय प्रगति हासिल भएको छ।

    प्रस्तुत विवरणअनुसार शेयर पूँजीतर्फ निर्धारित लक्ष्यको ७ प्रतिशत प्रगति भएको छ भने जगेडा कोषतर्फ १०१ प्रतिशत लक्ष्य प्राप्ति भएको छ।

    संघले आफ्नो वित्तीय कारोबार तथा संस्थागत गतिविधिबाट सरकारलाई ५९ लाख १३ हजार ५४ रुपैयाँ राजस्व समेत बुझाएको जनाएको छ।

    संघले अनावश्यक खर्चमा नियन्त्रण, संस्थागत स्रोतको प्रभावकारी परिचालन तथा वित्तीय अनुशासनमा जोड दिएका कारण नाफा आर्जनमा सकारात्मक परिणाम आएको जनाएको छ।

    बचत तथा ऋणसँगै कृषि र आयआर्जनमा जोड

    चालु आर्थिक वर्ष २०८३/०८४ का लागि संघले बचत तथा ऋण सहकारीका गतिविधिमा मात्रै सीमित नरही आयआर्जन तथा कृषि सहकारीमार्फत सञ्चालन हुने कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।

    संघका सचिव प्रकाश बञ्जाराले यस वर्षको नीति तथा कार्यक्रममा बचत तथा ऋणबाहेक आयआर्जन र कृषि सहकारीसँग सम्बन्धित कार्यक्रमका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार सहकारी संस्थालाई केवल वित्तीय कारोबारमा सीमित नराखी उत्पादन, रोजगारी, उद्यमशीलता र आयआर्जनसँग जोड्ने उद्देश्यले आगामी कार्यक्रम अघि बढाइनेछ। यसबाट सहकारीमार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा संघले गरेको छ।

    सुझाव र सहकार्यलाई प्राथमिकता

    संघकी वरिष्ठ उपाध्यक्ष शान्ति लामाले स्वागत मन्तव्य व्यक्त गर्दै सबैको सल्लाह, सुझाव र सहकार्यलाई समेटेर संघलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा उपाध्यक्ष मीरा सत्याल, कोषाध्यक्ष अर्जुन सापकोटा, सल्लाहकार कमल कुइँकेल, लेखा सुपरिवेक्षण समिति सदस्य डिल्ली आचार्यलगायत कार्यसमिति सदस्य तथा पदाधिकारीहरूको सहभागिता थियो।

    कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन गरिने विभिन्न कार्यक्रम, बजेटको प्राथमिकता तथा सहकारी क्षेत्रका समसामयिक विषयमा सहभागीहरूबीच छलफल गरिएको थियो। विभिन्न उपसमितिबाट प्राप्त सुझाव तथा सल्लाहलाई समेटेर आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

    सहकारी क्षेत्रसँग सम्बन्धित सहभागीका जिज्ञासा, प्रश्न तथा सुझावको अध्यक्ष अमन पोटे श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठ र सचिव प्रकाश बञ्जाराले सम्बोधन गर्नुभएको थियो।

    संघले आगामी दिनमा संस्थागत सुशासन, वित्तीय पारदर्शिता, सदस्य सहकारीको क्षमता अभिवृद्धि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

    सहकारी क्षेत्रमा देखिएका चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै सदस्य संस्था र स्थानीय समुदायको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने गरी दीर्घकालीन योजना अघि बढाउने संघको लक्ष्य रहेको कार्यक्रममा बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार