२०८३ भाद्र १२, शुक्रबार | Fri, 28, Aug, 2026

लाङटाङको फेदमा पानीको विशाल भण्डार, भोटेकोशीमा पुनः बाढीको खतरा


१७४३ पाठक संख्या
  • २०८३ भाद्र ११, बिहिबार मा प्रकाशित १४ घण्टा अघि
  • काठमाडौं, ११ भदौ । लाङटाङ हिमालको उत्तरी भेगमा गएको विशाल हिमस्खलनपछि त्यसको फेदमा ठूलो प्राकृतिक ताल बनेको पुष्टि भएको छ । हिमस्खलनका कारण दुई साना हिमाली खोल्साको दोभानमा पानी जम्मा भएर ताल बनेको चिनियाँ सञ्चारमाध्यम तथा भू–उपग्रह तस्बिरको विश्लेषणबाट खुलेको हो ।

    चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार छोचेन खोला र पुरेपु हिमनदीको फेदमा पानी थुनिएर ताल बनेको हो । यी दुवै जलस्रोत ल्हेन्दे खोलामा मिसिन्छन् । ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा पुगेर केरुङ खोलामा मिसिने भएकाले त्यहाँ बनेको ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढ्न सक्ने देखिएको छ ।

    बिहीबारसम्म उक्त प्राकृतिक जलाशयमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको बताइएको छ । तालबाट पानी बाहिर बग्नसमेत थालेको जनाइएको छ । आगामी दुई–तीन दिनमा थप करिब १० लाख घनमिटर पानी जम्मा भई कुल ३० लाख घनमिटर पुग्न सक्ने अनुमान गरिएको छ । यही कारण चिनियाँ पक्षले प्राकृतिक बाँध फुट्न सक्ने सम्भावनाप्रति उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बिहीबार सूचना जारी गर्दै भोटेकोशीको तटीय क्षेत्रमा पुनः जोखिम बढेको जनाएको छ । प्राधिकरणका अनुसार प्लानेट ल्याब र ल्याण्डस्याटबाट प्राप्त भू–उपग्रह तस्बिरले ल्हेन्दे खोलामा नयाँ ताल विस्तार भइरहेको देखाएको छ ।

    रसुवागढी नाकाबाट करिब १८ किलोमिटर उत्तरतर्फ ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई बनेको तालको क्षेत्रफल करिब ०.११ वर्ग किलोमिटर पुगेको प्राधिकरणले जनाएको छ । प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता र उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

    ‘बुधबारको जस्तो ठूलो बाढी आउने सम्भावना कम’

    त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहालले नयाँ तालका कारण भोटेकोशी क्षेत्रमा पुनः बाढीको त्रास बढेको बताए । यद्यपि तालको आकार बुधबार आएको बाढीको तुलनामा निकै सानो भएकाले त्यति ठूलो बाढी आउने सम्भावना नरहेको उनको भनाइ छ ।

    उनका अनुसार ताल फुटिहाले पनि त्यसबाट आउने बाढीको प्रभाव बुधबारको जस्तो भयावह नहुने अनुमान गर्न सकिन्छ । तर जोखिम पूर्ण रूपमा टरेको भने मान्न नसकिने उनले बताएका छन् ।

    ऊर्जा मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार ल्हेन्दे खोलाको माथिल्लो भागमा पानी जम्मा भएर ताल बनेको जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको थियो ।

    चिनियाँ पक्षले उक्त क्षेत्रलाई नजिकबाट निरन्तर निगरानी गरिरहेको र पानीको मात्रा बढ्दै गएपछि प्राकृतिक बाँध फुट्न सक्ने सम्भावनालाई ध्यानमा राखेर चेतावनी दिएको हुनसक्ने पराजुलीको भनाइ छ । त्यसैका आधारमा नेपालतर्फ प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

    पराजुलीले भोटेकोशी र त्रिशूली नदीका बाढी प्रभावित क्षेत्रमा रहेका नागरिक तथा उद्धारकर्मीहरू सचेत रहनुपर्ने भए पनि अनावश्यक रूपमा भयभीत हुनुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार हाल तालमा जम्मा भएको पानी बुधबार आएको बाढीको तुलनामा करिब १० प्रतिशत मात्र भएकाले सबै पानी एकैपटक बगे पनि बुधबारको भन्दा ठूलो क्षति हुने सम्भावना कम छ ।

    तर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्ति तटीय क्षेत्रमा निश्चिन्त भएर जाने अवस्था नरहेको उनको भनाइ छ । जोखिम कायमै रहेकाले सावधानी अपनाउनु आवश्यक रहेको उनले स्पष्ट पारे ।

    ५ हजार ५ सय मिटर उचाइबाट खस्यो हिउँ–चट्टान

    बुधबार बिहान लाङटाङ हिमालको उत्तरी भागमा रहेको हिमनदी तथा हिमतालको ठूलो भाग अचानक तल खसेपछि भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी आएको थियो ।

    जलस्रोत विशेषज्ञ सन्तोष नेपालका अनुसार बरफ, हिउँ र चट्टान मिसिएको विशाल ढिस्को करिब ५ हजार ५ सय मिटरको उचाइबाट तल खसेको अनुमान गरिएको छ । उक्त ढिस्को करिब ३ हजार मिटरको उचाइसम्म खस्दा ठूलो ऊर्जा उत्पन्न भएको र त्यसले तल्लो भागमा ठूलो खाडल तथा पानीको बहाव सिर्जना गरेको विज्ञहरूको अनुमान छ ।

    विज्ञहरूका अनुसार हिमस्खलनसँगै तल बगेको हिउँ, बरफ, चट्टान र लेदोले खोलाको बहावमा अवरोध सिर्जना गरेपछि त्यही क्षेत्रमा पानी थुनिएर प्राकृतिक ताल बनेको हुनसक्छ ।

    ड्रोनबाट निरन्तर निगरानी

    चिनियाँ टोलीले बिहीबारदेखि भोटेकोशी बाढीको सम्भावित मुहान क्षेत्रमा ड्रोनमार्फत निरन्तर निगरानी गरिरहेको छ । निगरानीका क्रममा हिउँ र माटोको लेदोसहितको बहाव अझै जारी रहेकाले जोखिम थप बढ्न सक्ने जलवायु विशेषज्ञ उज्वल उपाध्यायले बताएका छन् ।

    काठमाडौं विश्वविद्यालयका ‘भिजिटिङ फ्याकल्टी’ समेत रहेका उपाध्यायका अनुसार प्राकृतिक जलाशयमा ठूलो मात्रामा पानी जम्मा भइरहेकाले अचानक पानीको बहाव तथा थप श्रृंखलाबद्ध विपद्को जोखिम बढेको छ ।

    प्राध्यापक दाहालका अनुसार ल्हेन्दे खोला नै नेपाल–चीन सीमासँग जोडिएको क्षेत्र भएकाले नेपालतर्फबाट स्थलगत अध्ययन गर्न कठिन छ । तत्काल हेलिकप्टरमार्फत त्यस क्षेत्रमा पुगेर अध्ययन गर्ने सम्भावना पनि न्यून रहेको उनको भनाइ छ ।

    त्यसको तुलनामा चिनियाँ टोलीले सीमावर्ती क्षेत्र नजिकबाट ड्रोन उडाएर पहिरो, हिमस्खलन र त्यसपछि बनेको तालको अवस्थाबारे निरन्तर जानकारी संकलन गरिरहेको छ । चिनियाँ पक्षबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरकै आधारमा नेपालतर्फ पनि ताल विस्तार भइरहेको र पुनः बाढीको जोखिम रहेको जानकारी सार्वजनिक गरिएको हो ।

    प्राकृतिक तालको पानीको मात्रा बढ्दै गइरहेको अवस्थामा भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनालाई थप जोखिमबाट जोगाउन पूर्वतयारी, निरन्तर निगरानी र समयमै सूचना प्रवाहलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु