२०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

हजारौँ कन्यामा देवीको स्वरूप देख्दै बनेपाली, १२४ वर्ष पुरानो परम्परा


१६९१ पाठक संख्या
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित १६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक तथा ऐतिहासिक सहर बनेपामा एक शताब्दीभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको कन्या पूजा यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। विसं १९५९ देखि रजस्वला नभएका तथा वेलविवाह नगरिएका कन्यालाई देवीस्वरूप मानेर पूजा गर्ने परम्पराले बनेपाको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ।

    यस वर्षको मुख्य कन्या पूजा भदौ १९ गते आयोजना गरिने भएको छ। स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले पूजाको तयारी तीव्र पारेको छ। बनेपाको पुरानो बजार क्षेत्रमा हरेक वर्ष सप्तमी र श्रीकृष्ण जन्माष्टमीका अवसरमा कन्या पूजा गरिँदै आए पनि जन्माष्टमीको दिन आयोजना हुने मुख्य पूजामा हजारौँ कन्याको सहभागिता रहने गरेको छ।

    समितिका अनुसार यस वर्ष पूजा तथा प्रसाद वितरणका लागि ठूलो तयारी गरिएको छ। पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहित आवश्यक सामग्री तयार पारिएको छ। पूजाका लागि आवश्यक सामग्री व्यवस्थापनदेखि पूजामा सहभागी हुने भक्तजन तथा स्वयंसेवकको व्यवस्थापनसमेत अन्तिम चरणमा पुगेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिनुभयो।

    आठ हजारभन्दा बढी कन्या सहभागी हुने

    कृष्ण जन्माष्टमीका दिन काभ्रेपलाञ्चोकसँगै छिमेकी जिल्लाबाट समेत गरी करिब आठदेखि १० हजार कन्या बनेपा आउने गरेका छन्। बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार, पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकका दायाँ–बायाँ कन्याहरूलाई लस्करै राखेर पूजा गर्ने दृश्य त्यस दिन बनेपाको प्रमुख आकर्षण बन्ने गरेको छ।

    कन्यालाई देवीस्वरूप मानेर पूजा गर्दा निरोगी हुने, मनले चिताएको पूरा हुने तथा धार्मिक पुण्य प्राप्त हुने जनविश्वास छ। यही विश्वासका कारण कन्या पूजा गर्न काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न स्थानबाट भक्तजन बनेपा आउने गरेका छन्।

    कन्या पूजाका क्रममा सहभागी प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल हालेर रातो टीका लगाइदिने तथा प्रसाद, दक्षिणा र विभिन्न खाद्य सामग्री प्रदान गर्ने परम्परा छ। समितिमार्फत यस वर्ष पनि १३५ जना भक्तजनले दान–दक्षिणा तथा प्रसाद वितरण गर्ने व्यवस्था गरिएको छ। कन्यालाई स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु तथा विभिन्न प्रकारका मिठाई वितरण गरिन्छ।

    प्रतिकन्या पाँच सय रुपैयाँ बराबरको सामग्री

    बनेपामा हुने कन्या पूजामा प्रत्येक कन्यालाई करिब पाँच सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउने गरिएको छ। गत वर्ष मात्रै करिब आठ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो। उहाँका अनुसार दाताबाट प्राप्त सहयोगबाहेकको ठूलो हिस्सा खर्च समितिका पदाधिकारीले आफैँ व्यवस्थापन गर्दै आएका छन्।

    कन्या पूजा केवल धार्मिक अनुष्ठानमा सीमित नभई बनेपाको सामाजिक एकता र सांस्कृतिक सहअस्तित्वको प्रतीकसमेत बन्दै गएको स्थानीयको भनाइ छ। पूजा कार्यक्रममा जात, समुदाय वा वर्गका आधारमा कुनै विभेद नगरी उपस्थित सबै कन्यालाई समान रूपमा देवीस्वरूप मानेर पूजा गर्ने गरिएको छ।

    चण्डेश्वरी देवीसँग जोडिएको धार्मिक विश्वास

    बनेपाको कन्या पूजासँग यहाँकी आराध्यदेवी चण्डेश्वरीसँग सम्बन्धित धार्मिक किंवदन्ती जोडिएको छ। किंवदन्तीअनुसार रजस्वला नभएका तथा वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याको भेषमा आउने विश्वास गरिन्छ। उनीहरूलाई चण्डेश्वरी देवीका कुमारी स्वरूप मानेर पूजा गर्दा धार्मिक रूपमा सार्थक हुने जनविश्वास रहँदै आएको छ।

    बनेपाका सात गाउँलाई राक्षसबाट मुक्त गराउन चण्डेश्वरी देवी सफल भएको र देवी स्वयं कन्या स्वरूपमा रहेकाले कन्याको पूजा गर्ने परम्परा सुरु भएको स्थानीयको विश्वास छ। यही धार्मिक आस्थाले पुस्तौँदेखि यो परम्परालाई निरन्तरता दिइरहेको छ।

    कन्याको स्वागत तथा सम्मानमा बनेपाका नेवार समुदायले विभिन्न झाँकी र परम्परागत बाजागाजासमेत प्रस्तुत गर्ने गरेका छन्। भोछिभोया खलकलाई चण्डेश्वरीका सन्ततिका रूपमा मान्ने भएकाले पूजा व्यवस्थापनमा सबै समुदायको सहभागिता रहने गरेको बताइन्छ। बनेपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा सम्पन्न भएपछि मात्रै मुख्य कन्या पूजा सुरु हुने परम्परा छ।

    दुःखबाट सुरु भएको परम्परा, आज सांस्कृतिक सम्पदा

    बनेपाको ऐतिहासिक लेखन तथा स्थानीय जनश्रुतिअनुसार कुनै समय बनेपाका एक वैद्य परिवारका व्यक्तिले जीवनमा ठूलो दुःख परेपछि घरको बुइँगलमा कन्यालाई राखेर पूजा गरेका थिए। त्यही घटनाबाट कन्या पूजा सुरु भएको विश्वास गरिन्छ। प्रारम्भमा नेवार समुदायका रजस्वला नभएका कन्यालाई मात्र पूजा गर्ने गरिएकोमा समयक्रमसँगै सबै जातजातिका कन्यालाई सहभागी गराउन थालिएको स्थानीयको भनाइ छ।

    यसरी धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको संगम बनेको बनेपाको कन्या पूजा अहिले स्थानीयको साझा सम्पदाका रूपमा स्थापित भएको छ। बनेपालीले यसलाई ‘अमूर्त सांस्कृतिक सम्पदा’ का रूपमा संरक्षण गर्दै आएका छन्।

    पछिल्ला वर्षमा बनेपाको यो परम्परा जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। बनेपाका विभिन्न वडा तथा सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा कन्या पूजा आयोजना गर्न थालेका छन्।

    तर, विसं १९५९ देखि निरन्तर चल्दै आएको बनेपाको मौलिक कन्या पूजा भने आज पनि आफ्नो ऐतिहासिक निरन्तरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानका कारण विशेष महत्व बोकेको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा संरक्षण र पुस्तान्तरण हुन सके बनेपाको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउने स्थानीयको विश्वास छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु