काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि काभ्रेपलाञ्चोकको पाँचखालस्थित आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज विशेष सांस्कृतिक कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको बजेट विपद् उद्धार कार्यमा सहयोग गर्ने निर्णय गरेको छ।
संस्थाले आगामी भाद्र २१ गते आयोजना गर्ने तयारी गरेको ‘तीज विशेष सांस्कृतिक कार्यक्रम’ स्थगित गर्दै कार्यक्रम सञ्चालनका लागि अनुमान गरिएको सम्पूर्ण खर्च रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको हो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीद्वारा जारी सूचनामा प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
२०८३ भाद्र १० गते बिहान चीनतर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको भन्दै संस्थाले यस्तो विषम परिस्थितिमा पूर्वनिर्धारित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको जनाएको छ।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका कारण परिवारजन गुमाएका नागरिक शोकमा रहेका बेला उत्सव मनाउनुको सट्टा पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सामाजिक दायित्व भएको संस्थाको भनाइ छ।
संस्थाले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
भाद्र ८ गते जारी गरिएको सूचनाअनुसार भाद्र २१ गतेका लागि तय गरिएको तीज विशेष कार्यक्रम स्थगित गरिएको संस्थाले स्पष्ट पारेको छ। कार्यक्रमका लागि अनुमान गरिएको सम्पूर्ण खर्च अब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
चाडपर्वका अवसरमा गरिने खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा रूपान्तरण गर्ने संस्थाको निर्णयले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रयासका रूपमा अर्थ राखेको छ।
‘बाल, युवा, प्रौढको साथ, सबैसँग आर्थिक विकास’ भन्ने मूल नाराका साथ २०६१ सालमा स्थापना भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।
पाँचखाल–४ मा मुख्य कार्यालय रहेको संस्थाले बनेपा र कुन्ताबेशी सेवा केन्द्रमार्फत समेत सेवा प्रदान गर्दै आएको छ। विपद्को समयमा संस्थाले गरेको पछिल्लो निर्णयले सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्थाका रूपमा पनि जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ।
तीजजस्तो महत्वपूर्ण सांस्कृतिक पर्वका अवसरमा आयोजना गरिने कार्यक्रमको बजेट नै विपद् पीडितको राहतका लागि समर्पण गर्ने निर्णयले उत्सवभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उदाहरण प्रस्तुत गरेको छ।
प्राकृतिक विपत्तिले जनजीवन प्रभावित भएका बेला आफ्नो नियमित कार्यक्रम स्थगित गरेर त्यसको बजेट राहत कोषमा पठाउने निर्णयले पीडित परिवारप्रति सहानुभूति मात्र होइन, संकटको समयमा समुदाय र संस्थाहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीप्रतिको प्रतिबद्धता पनि देखाएको छ।

प्रतिक्रिया दिनुहोस