पाँचखाल । गत भाद्र १० गते आएको विनाशकारी हिमपहिरोले रसुवा, धादिङलगायतका जिल्लामा पुर्याएको ठूलो क्षतिप्रति ऐक्यबद्धता जनाउँदै पाँचखाल नगर प्याब्सनले उल्लेखनीय राहत रकम संकलन गरेको छ। विपत्तिमा परेकाहरूको सहयोगका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको स्वतःस्फूर्त सहभागिताबाट संकलित तीन लाख ७० हजार चार सय ८४ रुपैयाँ राहत रकम हस्तान्तरण गरिँदै छ।
पाँचखाल नगर प्याब्सनलगायत काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण पालिका प्याब्सनहरूले संकलन गरेको राहत रकम आज दिउँसो ३ बजे केन्द्रीय प्याब्सनका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिने भएको छ।
विपत्तिको पीडामा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले देखाएको मानवीय संवेदनाले अभियानलाई थप बलियो बनाएको पाँचखाल नगर प्याब्सनले जनाएको छ।
पालिका प्याब्सन र जिल्ला प्याब्सन हुँदै संकलित सम्पूर्ण रकम केन्द्रीय प्याब्सनको १० करोड रुपैयाँ राहत संकलन अभियान अन्तर्गत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ। उक्त रकम सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीको रोहबरमा राहत कोषमा हस्तान्तरण गर्ने तयारी रहेको छ।
पाँचखाल नगर प्याब्सनले आफ्नो क्षेत्रबाट संकलित रु. ३,७०,४८४ रकम हस्तान्तरण गर्न लागेको पाँचखाल नगर प्यब्सन अध्यक्ष राम प्रसाद कोइरालाले जानकारी दिँदै यस पुण्य तथा परोपकारी अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।
विपत्तिको समयमा सहयोगका लागि एकजुट भएको पाँचखालको निजी विद्यालय क्षेत्रले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। पीडामा परेकाहरूका लागि सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ भन्ने सन्देशसहित पाँचखाल प्याब्सन राहत अभियानमा सक्रिय बनेको हो।
पाँचखाल नगर प्याब्सन परिवारले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको साझा मानवीय दायित्व भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस