४ असोज, काठमाडौं । इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।
साउदी अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै रोकेर नष्ट गरिएको बताएका छन्। अन्य आक्रमण तथा क्षतिको भने आधिकारिक पुष्टि भएको छैन।
शनिबार बिहान रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँ देखिएको थियो। घटनापछि विमानस्थलका केही उडान प्रभावित भएका थिए।
हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले रियादका ‘संवेदनशील स्थल’ तथा यान्बुस्थित साउदी तेल कम्पनी अरामकोका ऊर्जा केन्द्रलाई निशाना बनाइएको दाबी गरेका छन्। उनका अनुसार ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको थियो।
साउदी पक्षले भने बिश, ताइफ, फरासान र यान्बु क्षेत्रमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास हवाई प्रतिरक्षाबाट विफल पारिएको जनाएको छ।
पछिल्लो तनावसँगै रियादमा पहिलोपटक हवाई आक्रमणको चेतावनी बजेको थियो। अमेरिकी विदेश मन्त्रालयले समेत आफ्ना नागरिकलाई सतर्क रहन र मध्यपूर्व यात्राबारे पुनर्विचार गर्न आग्रह गरेको छ।
यमनमा हुथी र साउदीसमर्थित सरकारी फौजबीचको संघर्ष चर्किँदै जाँदा लालसागरको सामुद्रिक मार्ग र ऊर्जा आपूर्तिमाथि समेत जोखिम बढेको छ। यसले क्षेत्रीय सुरक्षासँगै अन्तर्राष्ट्रिय व्यापार र तेल बजारमा थप अनिश्चितता बढाउने चिन्ता देखिएको छ।

प्रतिक्रिया दिनुहोस