मुस्ताङ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि त्यसको प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा समेत परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटक आगमन तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या करिब ४८ प्रतिशतले घटेको हो।
कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा साउन महिनामा बाढी, पहिरो र नदी कटानका कारण पटक–पटक सडक अवरुद्ध भए पनि मुस्ताङमा पर्यटक आगमन उल्लेख्य थियो। तर, रसुवामा आएको बाढीपछि भने भदौमा पर्यटक आगमनमा ठूलो गिरावट आएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमामा रहेको घाँसा प्रहरी चौकीको विवरणअनुसार चालु आर्थिक वर्षको साउनमा ६१ हजार २६३ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। तीमध्ये ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका तथा १९३ जना अन्य राष्ट्रका पर्यटक थिए।
भदौमा भने पर्यटक आगमन घटेर ३१ हजार ९८९ मा सीमित भएको छ। यसमध्ये १६ हजार ५०३ आन्तरिक, १५ हजार १३८ सार्क राष्ट्रका र ३४८ जना अन्य राष्ट्रका पर्यटक रहेका छन्। साउनको तुलनामा भदौमा २९ हजार २७४ जना पर्यटक कम आएका छन्, जुन ४७.७८ प्रतिशतको गिरावट हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले घटेका छन्।
यद्यपि, अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा यो सङ्ख्या बढेर ३४८ पुगेको छ। अर्थात् अन्य राष्ट्रका पर्यटक १५५ जनाले वृद्धि भएका छन्।
चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। यसमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ जना अन्य राष्ट्रका पर्यटक रहेका छन्।
प्रहरी निरीक्षक बस्यालले भदौ १० गते रसुवामा भएको बाढीपहिरोको घटनापछि मुलुकभर शोकको वातावरण बनेका कारण मुस्ताङमा पर्यटक आगमन प्रभावित भएको हुनसक्ने बताउनुभयो।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको साउन र भदौमा समग्र पर्यटक आगमन बढेको भए पनि साउनको तुलनामा भदौमा भने पर्यटक आगमनमा ठूलो गिरावट आएको तथ्याङ्कले स्पष्ट देखाएको छ।

प्रतिक्रिया दिनुहोस