२०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

कोरला नाका खुल्यो, तिब्बती भेडाच्याङ्ग्रा भित्रिए


५४७ पाठक संख्या
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • मुक्तिनाथ (मुस्ताङ), असोज ४ । चाडपर्व नजिकिएसँगै चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। पाँच वर्षपछि मुस्ताङका व्यवसायीले कोरला नाका हुँदै ४१९ वटा भेडाच्याङ्ग्रा ल्याएका हुन्।

    तिब्बतको ढोङ्वासेनबाट खरिद गरी ल्याइएका भेडाच्याङ्ग्राको पशु क्वारेन्टाइन परीक्षण गरिएको पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गणेश केसीले जानकारी दिनुभयो। उहाँका अनुसार क्वारेन्टाइन ऐनअनुसार परीक्षणपछि भेडाच्याङ्ग्रालाई कम्तीमा एक सातासम्म स्थानीय बथानमा मिसाउन नपाइने र प्राविधिक टोलीले निगरानी गर्नेछ।

    आयातित भेडाच्याङ्ग्रासँग पशु निरोगिताको प्रमाणपत्र भए पनि खोप विवरण नदेखिएपछि लोमन्थाङ गाउँपालिकासँगको समन्वयमा खोप लगाइएको छ।

    कोरला नाका व्यावसायिक रूपमा सञ्चालन भएको एक वर्षपछि पहिलोपटक भेडाच्याङ्ग्रा आयात भएको हो। विगतमा तिब्बत र मुस्ताङका व्यवसायीबीच खाद्यान्न तथा पस्मिनाका सामग्रीसँग भेडाच्याङ्ग्रा साटासाट गर्ने बार्टर प्रणाली समेत प्रचलनमा थियो। पछिल्लो समय नगद कारोबारमा जोड बढेपछि मुस्ताङी व्यवसायीले आफ्नै खोर तथा उत्पादन विस्तार गरेका थिए।

    एक महिनाअघि पनि कोरला नाकाबाट १० कन्टेनर भेडाको ऊन नेपाल भित्रिएको थियो। तिब्बतबाट भेडाच्याङ्ग्रा आउन थालेपछि यस वर्ष दशैँ–तिहारका लागि बजारमा मूल्य केही घट्न सक्ने व्यवसायीको अनुमान छ। गत वर्ष मुस्ताङमा भेडाच्याङ्ग्राको कारोबार करिब ३५ करोड रुपैयाँ बराबर भएको थियो।

    उच्च हिमाली क्षेत्रमा जडीबुटी खाँदै तीनदेखि पाँच वर्षसम्म हुर्काइने मुस्ताङी तथा तिब्बती भेडाच्याङ्ग्रा स्वाद र गुणस्तरका कारण चाडपर्वमा उपभोक्ताको रोजाइमा पर्ने गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार