२०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

चौरीदेउरालीमा निःशुल्क आँखा शिविर, १३० भन्दा बढीको परीक्षण


१०४१ पाठक संख्या
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रे । जिल्ला सहकारी संघ लि., काभ्रेको पहलमा चौरीदेउराली गाउँपालिका–३ मा आयोजित निःशुल्क आँखा शिविरबाट १३० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्।

    जिल्ला सहकारी संघको आयोजना, शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्था (साकोस) को सह–आयोजना तथा रेयुकाई एईको मासुंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो।

    शिविरमा सहभागीहरूको आँखाको परीक्षणसँगै आँखासम्बन्धी समस्या, उपचार विधि तथा सावधानीका विषयमा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। परीक्षणका क्रममा मोतीबिन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामीसमेत पहिचान भएका छन्।

    जिल्ला सहकारी संघ र रेयुकाई एईको मासुंगा आँखा अस्पतालबीच भएको मोतीबिन्दुको निःशुल्क उपचारसम्बन्धी द्विपक्षीय सम्झौताअनुसार पहिचान भएका बिरामीको निःशुल्क उपचार तथा शल्यक्रिया अस्पतालले गर्ने व्यवस्था गरिएको छ।

    गाउँमै विशेषज्ञ सेवासहितको आँखा शिविर सञ्चालन भएपछि स्थानीय नागरिकले सहज रूपमा परीक्षण र परामर्श पाएका छन्। आर्थिक तथा भौगोलिक कारणले नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुन सक्ने ग्रामीण क्षेत्रका नागरिकका लागि शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ।

    जिल्ला सहकारी संघले सहकारी क्षेत्रको विकास र सदस्य संस्थाको हितसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको छ। सोही क्रममा ग्रामीण क्षेत्रमा आँखा परीक्षण तथा उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको संघले जनाएको छ।

    मोतीबिन्दुको शल्यक्रियासमेत निःशुल्क हुने भएपछि शिविरले स्थानीय नागरिकलाई परीक्षणदेखि उपचारसम्मको सेवा गाउँमै जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार