२०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

असोज ९–११ मा अति भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


११४५ पाठक संख्या
  • २०८३ आश्विन ५, सोमबार मा प्रकाशित ८ घण्टा अघि
  • काठमाडौं, ५ असोज । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार सम्भावित वर्षाले बाढी, पहिरो, डुबान तथा जनजीवन र यातायातमा असर पार्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ।

    बंगालको खाडीको मध्य भागमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ मा परिणत भएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने महाशाखाले जनाएको छ।

    असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान तथा कर्णालीका केही क्षेत्रमा पनि भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहेका क्षेत्रमा पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई आवश्यक परे समयमै सुरक्षित स्थानमा सार्न पनि प्राधिकरणले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै सडक, हवाई यातायात, कृषि, पर्यटन र निर्माण क्षेत्रमा समेत असर पर्न सक्ने विभागले जनाएको छ। धानबाली भित्र्याउने समय भएकाले कृषि विज्ञको सल्लाहअनुसार मात्र काम गर्न र हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा पर्यटकलाई पनि सतर्क रहन आग्रह गरिएको छ।

    बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११४९, विपद्मा सहयोगका लागि १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार