२०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

कास्की प्रहरीको सक्रियता : ५६ फरार प्रतिवादी पक्राउ


३५३७ पाठक संख्या
  • २०८३ आश्विन ५, सोमबार मा प्रकाशित ६ घण्टा अघि
  • गण्डकी । कास्की प्रहरीले गत भदौमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० पुरुष र १६ महिला छन्।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकाबाट ११ वर्ष ३ महिना २७ दिन कैद तथा २२ लाख ८९ हजार १७५ रुपैयाँ बिगो असुलउपर भएको छ। पक्राउ परेकालाई कैद तथा जरिवाना असुलका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

    चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान तथा अभद्र व्यवहारलगायत मुद्दामा दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीका अनुसार भदौमा कास्कीमा १६४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये २० जघन्य तथा गम्भीर अपराध, नौ महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, १७ आर्थिक अपराध र ११८ अन्य अपराधका मुद्दा छन्। चालु मुद्दामा पनि ११५ जना पक्राउ परेका छन्।

    यसअघि साउनमा प्रहरीले ६७ जना फरार प्रतिवादी पक्राउ गरेको थियो। पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्रहरीले तीव्र बनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार