६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो । अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो । उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागीमा चालक गम्भीर घाइते भएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले आफैं बसमा आगो लगाएको देखिएको छ । घटना हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिवानाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।
घटनाको विस्तृत छानबिनका लागि प्रहरीले समिति गठन गरिसकेको छ । समितिले आगलागीको कारण, घटनाको पृष्ठभूमि तथा चालकले बसमा आगो लगाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस