काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुलापन आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्चमा कार्यक्रम हुनुलाई केवल एउटा स्थान खुलेको रूपमा नभई खुला संवादको अवसरका रूपमा लिनुपर्ने बताए।
उनले खुलामञ्चले नेपाली राजनीतिक आन्दोलनमा फरक विचार र मतलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने भूमिका खेलेको स्मरण गर्दै देशका विभिन्न ठाउँमा यस्ता खुला थलो आवश्यक रहेको बताए।
थापाले सिंहदरबारदेखि संसद्सम्म र राजनीतिक दलभित्र समेत जनताका प्रश्न सुन्ने तथा नेतृत्वलाई प्रश्न गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिए। ‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ उनले भने।
पार्टीभित्र नेतामाथि प्रश्न गर्दा सदस्यता गुम्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै थापाले फरक मत, आलोचना र प्रश्न गर्ने अधिकारलाई संस्थागत गर्नुपर्ने धारणा राखे। लोकतन्त्र बाहिर मात्र नभई राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैलीमा समेत स्थापित हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस