काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह आयोजना हुँदैछ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार (१९ र २० असोज) हुने कांग्रेसले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम २१ र २२ असोजमा हुनेछ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भने शुक्रबार र शनिबार सम्पन्न गरिएको थियो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ताका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
नाम दर्ता गरेका प्रतिनिधिलाई कांग्रेसले झोला उपलब्ध गराएको छ। झोलामा पार्टीको विधान, डायरी, डटपेन, प्रतिनिधि परिचयपत्र तथा खाना, खाजा र नास्ताका लागि आवश्यक कुपन राखिएको छ।

प्रतिक्रिया दिनुहोस