२०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

‘कचकच गर्नेहरूलाई फकाइरहनुभन्दा छोडिदिए हुन्छ’–रवि


१५३५ पाठक संख्या
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीभित्र निरन्तर असन्तुष्टि जनाउने र फकाउँदा–फकाउँदै नेतृत्वको शक्ति क्षय गराउनेहरूलाई छोडिदिन सुझाव दिएका छन्।

    काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र सधैँ कचकच र गनगन गर्ने नेताहरूलाई सम्झाउनुभन्दा आवश्यक परे छोडिदिनु उचित हुने बताएका हुन्।

    उनले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा–फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ।’

    लामिछानेले आफ्नो भनाइलाई गगन थापाप्रति गरेको दोस्रो ‘गुन’का रूपमा व्याख्या गरे। ‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु । मान्ने/नमान्ने तपाईंको जिम्मा,’ उनले भने।

    यद्यपि, लामिछानेले यसअघि गगनलाई लगाएको पहिलो ‘गुन’ के थियो भन्ने खुलाएनन्। साथै, उनले कसलाई लक्षित गरेर यस्तो सुझाव दिएका हुन् भन्नेबारे पनि कुनै नेताको नाम लिएनन्।

    कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायत केही पुराना नेताहरू भने १५औँ महाधिवेशनमा सहभागी छैनन्। लामिछानेको अभिव्यक्तिलाई कांग्रेसभित्रको पछिल्लो शक्ति समीकरण र नेतृत्व परिवर्तनसँग जोडेरसमेत हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑