२०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026

कांग्रेसमा टिकटदेखि नेतृत्वसम्म प्रत्यक्ष मतदानको प्रस्ताव


१११९ पाठक संख्या
  • २०८३ आश्विन १९, सोमबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको केन्द्रमुखी निर्णय प्रणाली अन्त्य गर्दै उम्मेदवार छनोटदेखि पार्टी नेतृत्व चयनसम्म प्रत्यक्ष र सहभागितामूलक प्रक्रिया अपनाउने प्रस्ताव अघि सारेका छन्।

    काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले पार्टीका उम्मेदवार केन्द्रबाट छनोट गर्ने परम्परा अन्त्य गरी प्राइमरी निर्वाचनमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था प्रस्ताव गरेका हुन्। उनले पार्टी सभापति पनि देशभरका करिब ९ लाख क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने व्यवस्था अघि सारेका छन्।

    निर्वाचनका बेला टिकट प्राप्त गर्न नेताको घरदैलो र काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले उम्मेदवार छनोटमा प्राइमरी निर्वाचनको व्यवस्था प्रस्ताव गरिएको थापाको दस्ताबेजमा उल्लेख छ।

    ‘उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामर्थ्यको पुरस्कार हुने छैन,’ प्रस्तावमा भनिएको छ, ‘छनोटदेखि निर्वाचित भएपछि गर्ने कामसम्म स्पष्ट प्रक्रिया र सार्वजनिक प्रतिबद्धता आवश्यक हुनेछन्।’

    थापाले उम्मेदवार छनोटमा पैसा, पहुँच र नेतृत्वसँगको निकटतालाई आधार नबनाउने प्रस्ताव गरेका छन्। त्यसका लागि प्राइमरी निर्वाचन, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई प्रमुख आधार बनाउने दस्ताबेजमा उल्लेख छ।

    उम्मेदवार बन्न चाहने व्यक्तिले पार्टी सदस्यको मत, समर्थक तथा शुभेच्छुकको सहभागिता र सार्वजनिक मतसर्वेक्षणबाट समेत अनुमोदित हुनुपर्ने प्रस्ताव गरिएको छ।

    परिवारवाद अन्त्य गर्ने प्रस्ताव

    थापाले पार्टीभित्रको परिवारवादसम्बन्धी आलोचनालाई सम्बोधन गर्ने गरी राजनीतिक अवसरलाई पारिवारिक उत्तराधिकारका रूपमा हस्तान्तरण हुन नदिने नीति पनि प्रस्ताव गरेका छन्।

    ‘राजनीतिक अवसर उत्तराधिकारमा सर्दैन,’ दस्ताबेजमा भनिएको छ, ‘पारिवारिक निकटतालाई योग्यता र योगदानको विकल्प बनाउने अभ्यासले कांग्रेसको परिवारलाई साँघुरो बनाउँछ।’

    महाधिवेशनबाट पारित भएमा प्रस्तावले कांग्रेसको संगठन सञ्चालन, उम्मेदवार छनोट र नेतृत्व चयनको परम्परागत प्रक्रियामा परिवर्तन ल्याउनेछ। थापाले यसलाई पार्टीलाई प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रतर्फ अघि बढाउने आधारका रूपमा प्रस्तुत गरेका छन्। प्रस्ताव अब महाधिवेशनको बन्दसत्रमा विस्तृत छलफल र निर्णयका लागि प्रवेश गर्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑