
प्रेमलाल नापीत,ललितपुर, असोज २२ । यल अन्तर सहकारी समन्वय समितिले वडा दसैँ, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरको ग्वार्कोस्थित सनराइज क्याफेमा आयोजित कार्यक्रममा सहकारी क्षेत्रको एकता, सहकार्य र आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
समितिका अध्यक्ष राजेन्द्र नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिमा आबद्ध १४ वटै सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले चाडपर्वको शुभकामना साटासाट गर्दै सहकारी संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा समितिका उपाध्यक्ष उर्मिला सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा यल अन्तर सहकारी मेनेजर क्लबका संयोजक तथा तःननि साकोसका व्यवस्थापक विनोद महर्जन, मां बंगलामुखी साकोसका व्यवस्थापक सुनिल महर्जन र यल अन्तर सहकारी महिला सञ्जालकी संयोजक मिनरर्वा जोशीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका अध्यक्षहरूले वडा दसैँ, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको विकास र संस्थागत सुदृढीकरणका लागि आपसी सहयोग, समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए। सहकारी संस्थाहरूबीच अनुभव आदान–प्रदान र सहकार्यको वातावरण विस्तार गर्न सके समग्र सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सकिने उनीहरूको जोड थियो।
कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव माधव नापितले कार्यक्रमको उद्देश्य तथा सहकारी संस्थाबीचको आपसी सम्बन्ध र सहकार्यको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै समितिका अध्यक्ष एवं सभापति राजेन्द्र नापितले उपस्थित सम्पूर्ण सहकारीकर्मी तथा सहभागीहरूमा वडा दसैँ, शुभ दीपावली र नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्नुभयो। उहाँले यल अन्तर सहकारी समन्वय समितिले आबद्ध सहकारी संस्थाहरूबीच सहकार्य, समन्वय र आपसी सहयोगलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिनुभयो। अध्यक्ष नापितको धन्यवाद मन्तव्यसँगै कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस