२०८३ आश्विन २३, शुक्रबार | Fri, 09, Oct, 2026

आफ्नो नाम जोडिएका सूचीबाट गगनले झिके हात


१४८३ पाठक संख्या
  • २०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

    शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका हुन् । आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै उनले त्यस्ता सूचीका आधारमा भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

    ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ थापाले भनेका छन् ।

    उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाहको पछि नलाग्न र कसैको प्रचारबाट प्रभावित नभई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन तथा विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन् ।

    कांग्रेसको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन प्रतिनिधिहरूको स्वतन्त्र निर्णय महत्त्वपूर्ण हुने उल्लेख गर्दै थापाले पार्टीको सर्वोपरि हितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनले निर्वाचनलाई मर्यादित, संयमित र उत्साहपूर्ण बनाउन पनि प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिहरूले गर्ने विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने अपेक्षा गरेका छन् ।

    यसैबीच, निर्वाचन प्रक्रियामा भएको ढिलाइका कारण महाधिवेशन प्रतिनिधिहरूले भोग्नुपरेको असुविधाप्रति पनि थापाले क्षमायाचना गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑