२०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

पितृको सम्झनामा तर्पण र पिण्डदान, आज सकिँदै सोह्र श्राद्ध


९८९ पाठक संख्या
  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । दिवंगत पितृको स्मरण र सम्मानमा मनाइने पितृ पक्ष आज समापन हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ।

    हिन्दू धार्मिक परम्पराअनुसार पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाका दिन गरी १६ दिनसम्म दिवंगत पितृको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाका बुबाको श्राद्ध भने आइतबार गरिनेछ।

    पितृ पक्षको अन्तिम दिन पर्ने औँसी श्राद्धलाई विशेष महत्त्वका साथ लिइन्छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज औँसीका दिन गर्न सकिने शास्त्रीय मान्यता छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार कुनै कारणले आज पनि श्राद्ध गर्न नसकिएमा आपद्धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने व्यवस्था छ। त्यस अवधिमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने धार्मिक मान्यता रहेको उनले बताए। लक्ष्मीपूजाका दिन पनि गर्न नसकिए वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल समय मिलाएर गर्न सकिने शास्त्रीय विकल्प रहेको उनको भनाइ छ।

    नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा रोकिएको श्राद्ध गर्न विभिन्न वैकल्पिक तिथि र समयको व्यवस्था गरिएको छ। आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका अवसरमा पनि रोकिएको श्राद्ध गर्न सकिने उनले जानकारी दिए।

    यी विकल्पमा पनि श्राद्ध गर्न नसकिए आफूले वा ब्राह्मणमार्फत वैदिक मन्त्रको दैनिक १०८ पटक जप गर्न सकिने धार्मिक विकल्प रहेको प्राडा भट्टराईले बताए।

    पितृ पक्षको अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायत तीर्थस्थलमा पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने श्रद्धालुको भीड लाग्ने गर्छ।

    पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने परम्पराका रूपमा रहेको सोह्र श्राद्धको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको चहलपहल सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष प्रारम्भ हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑