२०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

पनौतीमा साहित्यिक उत्सवः कविता वाचनसँगै निबन्ध विजेता सम्मानित


१२२३ पाठक संख्या
  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित १0 घण्टा अघि
  • काभ्रेपलाञ्चोक , पनौती । पनौती साहित्य समाजको आयोजनामा बडादशैँको अवसर पारेर शुभकामना आदानप्रदान, विशेष कविता वाचन तथा निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

    वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काभ्रेका पाँच जना स्थापित कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रममा दुईकाजी ताम्राकार, ध्रुव कृष्ण ताम्राकार, पुरुषोत्तम ताम्राकार, हरिप्रसाद चौलागाई र पूर्ण श्रेष्ठ ‘हृदयकृत’ले १० वटा कविता वाचन गरेका थिए। कविहरूका सिर्जनाले कार्यक्रममा उपस्थित साहित्यकार तथा साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाएको थियो।

    कार्यक्रममा गत असोज ७ गते आयोजित पनौती नगरव्यापी आधारभूत तहस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    प्रतियोगितामा सरस्वती कुञ्ज बोर्डिङ स्कुलकी ग्रीष्मा बजगाई प्रथम, सूर्योदय माध्यमिक बोर्डिङ स्कुलका विजय तामाङ द्वितीय र कुशादेवी माध्यमिक विद्यालयकी अनिसा हुमागाई तृतीय भएका थिए। विजयी विद्यार्थीलाई प्रमुख अतिथि लाकोजूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

    सो अवसरमा साहित्यकार लाकोजूले साहित्यले समाजलाई जोड्ने, सामाजिक सद्भाव अभिवृद्धि गर्ने तथा बालबालिकामा अन्तर्निहित प्रतिभा उजागर गर्ने बताउनुभयो। उहाँले विद्यार्थीको सिर्जनात्मक क्षमता विकास गर्न निबन्ध प्रतियोगिताजस्ता शैक्षिक तथा साहित्यिक गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

    साहित्यिक सिर्जनाको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान तथा चाडपर्वका अवसरमा आपसी सद्भाव र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीको उत्साहजनक सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑