काठमाडौं । आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार आगामी बुधबारसम्म देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने देखिएको हो। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। यस दिन कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने सम्भावना छ। ती दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
बिहानको हुस्सु र कुहिरोले यातायातमा असर पार्न सक्ने
महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्छ। यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले यात्रु तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना र पूर्वानुमान अद्यावधिक गर्न महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस