७ कात्तिक, कास्की । पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको खुलेको छ। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित एक औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद भएपछि यस्तो तथ्य बाहिर आएको हो।
प्रहरीले जलधारे औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई विभिन्न चार प्रकारका लागुऔषधजन्य चक्कीसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उक्त औषधि पसलमा जाँच गरेको थियो। सो क्रममा सञ्चालिकाको साथबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका औषधिमा कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की रहेका छन्।
प्रनाउ पासवानले विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परेको जानकारी दिए। औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै यस्ता औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगसम्बन्धी नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ।
पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटै लागुऔषधको कारोबार हुने गरेको घटना सार्वजनिक हुँदै आएका छन्। यस्ता घटनामा संलग्न रहेको आरोपमा औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कानुनी प्रक्रिया अघि बढाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस