झापा, १० मंसिर । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरणमा अनियमितता भेटिएपछि झापाको बुद्धशान्तिमा रहेको एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारले खरिद गरेको अनुदानित मलको बिक्री र मौज्दात विवरण स्पष्ट देखाउन नसकेपछि कारबाहीमा परेको हो । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारमा अनियमितता भेटिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट कुल ४०० बोरा मल खरिद गरेका थिए । तर, अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै भेटिएपछि बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण माग गरिएको थियो । उक्त विवरण पेस गर्न नसकेपछि भण्डारलाई उपभोक्ता हित संरक्षण ऐनअनुसार दुई लाख रुपैयाँ जरिबाना गरिएको हो ।
भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी रहेको थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी मात्रै भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब सञ्चालकले देखाउन नसकेको प्रशासनले जनाएको छ ।
अनुदानित मल किसानका लागि उपलब्ध गराइने भएकाले यसको बिक्री वितरण, मौज्दात र अभिलेख व्यवस्थापनमा पारदर्शिता अनिवार्य हुन्छ । किसानलाई लक्षित सरकारी अनुदानको दुरुपयोग हुन नदिन प्रशासनले अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसै क्रममा बुद्धशान्ति गाउँपालिका–३ स्थित ७ नम्बर चोकमा रहेको **न्यू कञ्चन कृषि सहकारी संस्था**को समेत अनुगमन गरिएको थियो । उक्त सहकारीको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त रहेको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस