काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टीले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण र राजनीतिक जागरणका उद्देश्यसहित राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको छ। पालिका हुँदै वडा तहसम्म पुग्ने लक्ष्य राखिएको अभियानमा पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय नेताहरू परिचालित भएका छन्।
पार्टीका केन्द्रीय सदस्यहरू सूर्यमान दोङ, टोकबहादुर वाइवा, गंगाबहादुर दोङ, रुकु चौलागाईं, अकलबहादुर थिङ, तेजबहादुर मिजार, भोला प्रसाद अर्याल, दिननाथ गौतम, शिशिर भण्डारी, बसुन्धरा हुमागाईं, रत्न ढकाल, मिमबहादुर वाइवा, रेणुका चौलागाईं, राजीव लामा, मुकुन्द गौतम, दैवलाल घिसिङ, दलमान थोकर, गोकुल गौतम, रामहरी खनाल, कृष्ण अधिकारीलगायतका नेताहरूको नेतृत्व तथा उपस्थितिमा जिल्लाका विभिन्न पालिका र वडामा अभियान सञ्चालन भइरहेको छ।
अभियानलाई जिल्लाका सबै स्थानीय तहका वडा स्तरसम्म विस्तार गरिने अभियानका प्रचार विभाग प्रमुख दलमान थोकर (डीएम लामा)ले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय नीतिअनुसार सुरु गरिएको अभियानले संगठनलाई जनताको तहसम्म पुर्याउने र स्थानीय राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने लक्ष्य राखेको छ।
जिल्ला संयोजक भोला प्रसाद अर्यालले अभियानलाई संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना, स्थानीय समस्या पहिचान तथा समाधानका लागि पहल र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताए। जनताको बदलिँदो अपेक्षा र आवश्यकताअनुसार पार्टीले आफूलाई समयसापेक्ष बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ।
यसअघि तेमाल गाउँपालिकाका विभिन्न वडा, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकालगायतका स्थानमा अभियानको उद्घाटन तथा कार्यक्रम सञ्चालन भइसकेको छ। आगामी दिनमा पनौती, चौरीदेउराली, धुलिखेल, बेथानचोकलगायतका पालिकामा उद्घाटन कार्यक्रम गर्ने तयारी रहेको नेता लालध्वजले जानकारी दिए।
अभियानको मुख्य उद्देश्य पार्टी सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार तथा अधिवेशनको तयारी रहेको उनले बताए।
जिल्ला इन्चार्ज टोकबहादुर वाइवाले संविधान कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र वर्तमान सरकारको कार्यशैलीबारे जनतामाझ पार्टीको धारणा राख्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने उद्देश्यका साथ नेता तथा कार्यकर्तालाई अहिलेदेखि नै सक्रिय हुन आग्रह गरिरहेको बताए।
नेता शिशिर भण्डारीका अनुसार अभियानमार्फत संगठन विस्तार तथा सुदृढीकरण, सदस्यता नवीकरण र नयाँ सदस्य वितरण, जनताका गुनासा तथा सुझाव संकलन र राजनीतिक–वैचारिक प्रशिक्षण सञ्चालन गरिनेछ। यस्तै, अधिनायकवाद, निरंकुशता र अराजकताको विरोध गर्दै राष्ट्रियता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीपंक्ति र जनसमुदायमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको नेता दैवलाल घिसिङले बताए।
जनताका समस्या उठाउने र समाधानका लागि पहल गर्ने
मंसिर २५ गतेसम्म सञ्चालन हुने पालिकास्तरीय अभियानमा नागरिकका दैनिक समस्या तथा जनजीविकासँग जोडिएका सवाललाई स्थानीय सरकारसम्म पुर्याएर समाधानका लागि पहल गरिने नेता इन्द्रबहादुर थिङले बताए।
उनका अनुसार स्थानीय तहमा विकास निर्माणका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा देखिएका कठिनाइ तथा नागरिकका गुनासाहरू प्रत्यक्ष संकलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए।
नेता गंगाबहादुर दोङले बजारमा बढ्दो महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षाजस्ता समस्याबारे जनस्तरमा आवाज उठाउँदै सम्बन्धित निकायलाई जवाफदेही बनाउन अभियानले भूमिका खेल्ने बताए। महिला, युवा, विद्यार्थी, किसान, दलित, आदिवासी जनजाति, मधेसी तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई समेत अभियानले प्राथमिकता दिने नेताहरूको भनाइ छ।
पार्टीले अभियानलाई संगठनात्मक गतिविधिमा मात्रै सीमित नराखी प्रत्यक्ष जनसेवा र रचनात्मक कार्यसँग जोड्ने योजना बनाएको छ। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै गाउँ–गाउँ र टोल–टोलसम्म संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय राजनीतिक परिस्थिति र जनभावना बुझ्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
नेपाली कम्युनिस्ट पार्टी काभ्रेले जिल्लाका नेता, कार्यकर्ता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई अभियानमा सक्रिय सहभागिता जनाउँदै राष्ट्रिय जागरण अभियान सफल बनाउन आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस