पाँचखालमा २४, बनेपामा १९ र मण्डनदेउपुरमा ९ जनामा डेङ्गी संक्रमण पुष्टि
काभ्रेपलाञ्चोक । मंसिर ८ । काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि डेङ्गी संक्रमण फैलिएको पाइएको छ । साउन १ गतेदेखि मंसिर ७ गतेसम्म जिल्लाका चार स्थानीय तहमा गरी ५४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार संक्रमितमध्ये ३० जना पुरुष र २४ जना महिला रहेका छन् । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या सबैभन्दा बढी पाँचखाल नगरपालिकामा देखिएको छ ।
नगरपालिकागत विवरणअनुसार पाँचखालमा २४ जना, बनेपा नगरपालिकामा १९ जना, मण्डनदेउपुर नगरपालिकामा नौ जना र नमोबुद्ध नगरपालिकामा दुई जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
पाँचखाल र बनेपामा संक्रमणको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने हालसम्म डेङ्गी संक्रमण पुष्टि भएको छैन ।
जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा डेङ्गीका नयाँ संक्रमित थपिएका छैनन् । संक्रमणको जोखिम कायम रहेकाले लामखुट्टेको वृद्धि रोक्न तथा संक्रमणबाट बच्न सतर्कता अपनाउन आवश्यक देखिएको छ ।
डेङ्गी संक्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा पानी जमेको स्थानमा समेत प्रजनन गर्ने भएकाले घर, आँगन, छत तथा आसपासमा पानी जम्न नदिनु, पानी राख्ने भाँडाहरू नियमित सफा गर्नु र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु महत्वपूर्ण हुन्छ ।


प्रतिक्रिया दिनुहोस