२०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

कृषकको समस्यामा कृषि सामग्रीको सहजीकरण, बिहानदेखि साँझ ६ बजेसम्म मल वितरण


१३५१ पाठक संख्या
  • २०८३ मंसिर १०, बिहिबार मा प्रकाशित ५४ मिनेट अघि
  • डिएपी मलको माग उच्च, कृषि सामग्री कम्पनीले बिहानदेखि साँझ ६ बजेसम्म र शनिबार–आइतबार पनि वितरण सुरु गर्‍यो

    काभ्रेपलाञ्चोक । आलु खेतीको मुख्य सिजन सुरु भएसँगै काभ्रेपलाञ्चोकमा अनुदानित रासायनिक मलको माग बढेको छ । खेत तयारी भइसकेको र आलु रोप्ने समय नजिकिँदै गर्दा पर्याप्त मल आपूर्ति हुन नसकेपछि कृषकहरू चिन्तित बनेका छन् ।

    बागमती प्रदेश सरकारले निर्धारण गरेको कोटाअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका काभ्रेपलाञ्चोकस्थित कार्यालयमार्फत अनुदानित मल वितरण हुँदै आएको छ । तर, दशैं–तिहारको लामो सार्वजनिक बिदाका कारण मल आपूर्तिमा ढिलाइ हुनुका साथै उपलब्ध मलसमेत पर्याप्त नहुँदा कृषकले समस्या भोग्नुपरेको छ ।

    विशेषगरी आलु रोप्ने समयमै मलको अभाव देखिएपछि मल लिन आउने डिलरहरूको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालयमा भीड बढेको छ । सातामा दुई दिन सार्वजनिक बिदा हुँदा टाढाबाट मल लिन आउने डिलरले समयमै मल ढुवानी गर्न नसक्ने र त्यसको प्रत्यक्ष असर कृषकमा पर्ने अवस्था देखिएको छ ।

    कृषकको समस्यालाई मध्यनजर गर्दै कृषि सामग्री कम्पनी लिमिटेड, काभ्रेपलाञ्चोक कार्यालयले मल वितरणलाई सहज र व्यवस्थित बनाउन कार्यालय समयभन्दा बाहिर पनि सेवा दिन थालेको छ । कम्पनीले बिहानैदेखि साँझ ६ बजेसम्म मल वितरण गर्नुका साथै शनिबार र आइतबार सार्वजनिक बिदाका दिनसमेत मल उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

    कार्यालय प्रमुख आलोक कुमार शर्माका अनुसार मल लिन टाढाटाढाबाट आउने डिलरहरू दुई दिनसम्म पालो कुर्नुपर्ने र कृषकले समेत मल खरिदका लागि अनावश्यक समय पर्खनुपर्ने अवस्थालाई अन्त्य गर्न कार्यालयले अतिरिक्त समय सेवा सुरु गरेको हो ।

    शर्माले कर्मचारीको नियमित कार्यालय समय र साप्ताहिक बिदाको सुविधासमेतलाई बेवास्ता गर्दै कृषकको हितलाई प्राथमिकतामा राखेर गत सातादेखि अतिरिक्त सेवा सञ्चालन गरिएको जानकारी दिए ।

    ‘कार्यालय समय र हप्तामा दुई दिन सार्वजनिक बिदामा मल वितरण नगर्दा टाढाबाट आउने डिलरहरू दुई दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो । कृषकले पनि मल खरिदका लागि पर्खनुपर्ने बाध्यता थियो । त्यसैले कृषकको सहजताका लागि बिहानदेखि साँझ ६ बजेसम्म र सार्वजनिक बिदामा पनि मल वितरण गर्ने निर्णय गरेका हौँ,’ शर्माले भने । उनका अनुसार मल लिन आउने डिलरहरूको भीड कम नहुन्जेल सार्वजनिक बिदाका दिनसमेत सेवा निरन्तर सञ्चालन गरिनेछ ।

    यतिबेला युरिया मलको तुलनामा आलु खेतीका लागि आवश्यक डिएपी मलको माग बढी छ । जिल्लाका पाँचखाल, मण्डनदेउपुर, बनेपा, पनौतीलगायतका क्षेत्रमा आलु खेतीको क्षेत्रफल तथा उत्पादन बढी हुने भएकाले डिएपी मलको माग उच्च रहेको छ । तर, कृषकको मागअनुसार मल आपूर्ति हुन नसक्दा आलु खेती प्रभावित हुने चिन्ता बढेको छ ।

    आलु रोप्ने समयमै मलको अभाव देखिएपछि कृषकहरू उत्पादन घट्ने जोखिममा छन् । कृषि सामग्री कम्पनीले वितरण समय बढाएर राहत दिने प्रयास गरे पनि डिएपी मलको पर्याप्त आपूर्ति हुन नसके कृषकको समस्या समाधान हुन कठिन देखिन्छ ।

    कृषकलाई समयमै मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापन थप प्रभावकारी बनाउनुका साथै मागअनुसार डिएपी मलको मात्रा बढाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑