२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सीपमुखी शिक्षालाई जोड दिँदै ज्ञानकुञ्जमा खाना महोत्सव


५३०५ पाठक संख्या
  • २०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव सम्पन्न भएको छ। प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा स्वाद परीक्षणका लागि प्रस्तुत गरिएको थियो।

    विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप विकाससँग जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बनेपा नगर क्षेत्रका २० भन्दा बढी विद्यालयका करिब ५०० भन्दा बढी विद्यार्थी तथा विद्यालय प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। महोत्सवमा १५ वटा स्टलमार्फत विभिन्न परिकारहरू प्रदर्शन गरिएको थियो।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको विशेष उपस्थिति रहेको थियो। उनले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै व्यवहारिक तथा सीपमुखी शिक्षाले विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम बनाउने धारणा व्यक्त गरे।

    प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउँदै विद्यालयले विद्यार्थीहरूलाई सीपमूलक शिक्षामा अभ्यस्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

    सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको प्रतिभा र क्षमता विकासमा विशेष ध्यान दिँदै विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नवीनतम शिक्षण प्रविधिहरू अपनाउँदै आएको छ। साथै विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा समेत विशेष ध्यान केन्द्रित गर्दै आएको विद्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार