२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

देशले ठूलो परीक्षा पार गर्यो, निर्वाचन शान्तिपूर्ण भयो : कार्की


५६४३ पाठक संख्या
  • २०८२ चैत्र २, सोमबार मा प्रकाशित ४ महिना अघि
  • काठमाडौं । विषम राजनीतिक परिस्थिति र विभिन्न चुनौतीका बीच सरकारले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको प्रधानमन्त्री सुशीला कार्की ले बताउनुभएको छ।

    राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले निर्वाचन हुने वा नहुने भन्ने अन्योलका बीच फागुन २१ गते स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार सरकारले पाएको मुख्य जिम्मेवारी समयमै पूरा गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो।

    प्रधानमन्त्री कार्कीले आफूले सरकारको नेतृत्व सम्हाल्दा धेरै चुनौती सामना गर्नुपरेको स्मरण गर्नुभयो। जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरता, विभिन्न दलको अविश्वास र आलोचनाका बीच सीमित समयमै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। “सरकारको अवधि जम्मा छ महिनाको थियो, त्यसमाथि धेरैले अविश्वास पनि व्यक्त गरे। तर देशको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले निरन्तर काम गर्यौँ,” उहाँले भन्नुभयो।

    निर्वाचन तयारीका क्रममा सरकारले निर्वाचन आयोगसँग घनिष्ठ समन्वय गरी काम गरेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले प्रभावकारी भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो। निर्वाचन सफल बनाउन आम नागरिकको सहयोग पनि महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

    निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले जनताले परिवर्तनको पक्षमा मत दिएको बताउनुभयो। नयाँ दलहरूले ठूलो समर्थन पाउनु युवाको आकांक्षा र परिवर्तनको चाहनाको परिणाम भएको उहाँको विश्लेषण छ। तर नयाँ दलले मात्तिनु नहुने र पुराना दलले पनि आत्तिनु नहुने भन्दै सबैले जनमतको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो।

    सरकारले आफ्नो कार्यकालमा सुशासन र मितव्ययितालाई प्राथमिकता दिएको पनि प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयो। अनावश्यक खर्च कटौती गरिएको, प्रशासन र सुरक्षा निकायमा नियुक्ति गर्दा ज्येष्ठता र कार्यक्षमताको आधारमा निर्णय गरिएको तथा विश्वविद्यालयलगायत संस्थामा राजनीतिक हस्तक्षेप नगर्ने नीति अपनाइएको उहाँको भनाइ छ।

    आगामी सरकारका लागि सन्देश दिँदै प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र युवाका लागि रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बेरोजगारी मुलुकको प्रमुख समस्या भएकाले युवालाई देशमै अवसर दिन सकियो भने विदेश पलायन कम हुने उहाँले उल्लेख गर्नुभयो।

    प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति, स्थिरता र विकासको वातावरण निर्माण गर्दै सबै मिलेर देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै देशका प्राकृतिक स्रोत र सम्भावनालाई सदुपयोग गरेर समृद्ध नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार