७ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू–भागमा बदली भएको मौसम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय मौसममा केही सुधार देखिए पनि आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना कायम छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार आइतबारदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार आएको हावाहुरी र असिनापानीका कारण देशका विभिन्न स्थानमा क्षति पुगेको थियो र जनजीवन प्रभावित बनेको थियो।
आज पनि चट्याङ, हावाहुरी र असिनापानीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस