२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

सहकारी दिवसमा काभ्रेमा बहुआयामिक कार्यक्रम घोषणा


७८०१ पाठक संख्या
  • २०८२ चैत्र ८, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक — ६९ औं राष्ट्रिय सहकारी दिवस २०८२ को अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेद्वारा विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित सञ्चालन हुने कार्यक्रमहरूले सहकारी क्षेत्रको सुदृढीकरण, आर्थिक समावेशिता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    संघका अनुसार सहकारी अभियानलाई जनस्तरसम्म थप प्रभावकारी बनाउने उद्देश्यले चैत १६ गतेदेखि २० गतेसम्म विभिन्न विषयगत कार्यक्रमहरू तय गरिएको हो। कार्यक्रमअन्तर्गत चैत १६ गते महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। जिल्ला सहकारी संघको सभाहलमा बिहान १०:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा महिला उद्यमी, सहकारीकर्मी तथा विज्ञहरूबीच अनुभव आदानप्रदान, चुनौती र अवसरबारे छलफल गरिनेछ। कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण र सहकारीमार्फत उद्यम प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

    त्यसैगरी, चैत १७ गते बनेपा–११ स्थित एबिसम फुटसलमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ। बिहान ८:०० बजेदेखि सुरु हुने प्रतियोगितामा जिल्लाभरका सहकारी संस्थाहरूबीच सहभागिता रहनेछ। प्रतियोगिताले सहकारीकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, टीमवर्कको भावना विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि टिम दर्ता चैत १२ गतेसम्म खुला राखिएको छ।

    कार्यक्रमको अन्तिम चरणमा चैत २० गते जिल्ला सहकारी संघको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिनेछ। बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले समुदायप्रति सहकारीको योगदानलाई अझ प्रस्ट पार्ने विश्वास गरिएको छ।

    संघले “समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान” भन्ने नारालाई अघि सार्दै सहकारीको पहुँच विस्तार, वित्तीय साक्षरता अभिवृद्धि तथा सदस्यता विस्तार अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ। साथै, सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्दै जनविश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

    जिल्ला सहकारी संघ काभ्रेले सम्पूर्ण सहकारीकर्मी, सदस्य, युवा तथा सर्वसाधारणलाई कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई सहकारी अभियानलाई थप सशक्त बनाउन आह्वान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार