काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठान, काभ्रेपलाञ्चोक जिल्ला शाखाको ३२औँ स्थापना दिवस तथा ३१औँ वार्षिक साधारण सभा विभिन्न सचेतनामूलक सन्देशसहित सम्पन्न भएको छ।
शाखाका सभापति टिकाभक्त भोछिभोयाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले पछिल्लो समय नेपालमा मुटुरोगका बिरामीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै यसको मुख्य कारण अस्वस्थ जीवनशैली र खानपान रहेको बताउनुभयो। उहाँले नियमित व्यायाम, सन्तुलित आहार र मानसिक सन्तुलन कायम राखेमा मुटुरोगको जोखिम घटाउन सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सुरुआत ग्रुवेन तौजलेले स्वागत मन्तव्यसहित गर्नुभएको थियो। उहाँले प्रतिष्ठानले विगतदेखि नै मुटुरोगसम्बन्धी सचेतना अभिवृद्धि, स्वास्थ्य परीक्षण शिविर सञ्चालन तथा जनस्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले मुटुको स्वास्थ्य संरक्षणबारे आ–आफ्ना विचार राख्दै जीवनशैलीमा सुधार अपरिहार्य रहेकोमा जोड दिनुभएको थियो । भक्तपुर शाखाका सहकोषाध्यक्ष कृष्ण गोसाईले मुटुरोगको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनुभयो। बालरोग विशेषज्ञ डा. अनिस जोशीले बालबालिकादेखि नै स्वस्थ बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो भने शिक्षाविद् माधवप्रसाद अधिकारीले जनचेतना अभिवृद्धिमा शैक्षिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यसैगरी, स्त्रीरोग विशेषज्ञ डा. विद्या कोख श्रेष्ठले महिलाहरूमा पनि मुटुरोगको जोखिम बढ्दै गएको भन्दै समयमै परीक्षण र सचेतना आवश्यक रहेको धारणा राख्नुभयो। वक्ताहरूले समग्रमा जिव्रोको स्वादका लागि अस्वस्थ खानपान अपनाउने बानी त्याग्दै सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रतिष्ठानका सचिव हरिशरण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन भएका गतिविधिहरूको जानकारी गराउनुभयो। त्यस्तै, कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययको विवरण सार्वजनिक गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको जनाइएको छ।
उक्त अवसरमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। शिक्षा क्षेत्रतर्फ नारायण प्रसाद वैद्य र माधवप्रसाद अधिकारी तथा स्वास्थ्य क्षेत्रतर्फ डा. विद्या कोख श्रेष्ठ र अञ्जु अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रमको समापनअघि प्रतिष्ठानका उपसभापति सिद्धिवहादुर कर्माचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्य सभापति टिकाभक्त भोछिभोयाले आगामी दिनमा पनि मुटुरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस