काठमाडौं, १६ चैत ।हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूमाथि ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएका छन्।
सोमबार दर्ता गरिएको उजुरीमा साम्पाङले सुनिता खड्का नामकी एक महिलाले टिकटकमार्फत आफूलाई लक्षित गर्दै गम्भीर प्रकृतिको धम्की दिएको उल्लेख गरेका छन्। उजुरीमा ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक भएको दाबी गरिएको छ।
साम्पाङद्वारा दर्ता गरिएको उजुरीपत्रमा उल्लेख भएअनुसार, ती महिलाले टिकटकमा सार्वजनिक रूपमा ज्यान मार्ने तथा घर जलाउनेसम्मका अभिव्यक्ति दिएको र निरन्तर गालीगलौज तथा अपमानजनक टिप्पणी गर्दै आएको आरोप लगाइएको छ। उनले यस प्रकारको गतिविधिले आफ्नो व्यक्तिगत सुरक्षा र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुगेको बताएका छन्।
उजुरीमा साम्पाङले लेखेका छन्, “सामाजिक सञ्जाल टिकटकमार्फत ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की दिँदै अत्यन्तै आपत्तिजनक र पाशविक शैलीमा गालीगलौज गरिएको छ। यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित व्यक्तिलाई यथाशीघ्र पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न अनुरोध गर्दछु।”
साथै, उनले यस्ता गतिविधि सामाजिक सद्भाव र शान्ति सुरक्षाका लागि समेत चुनौतीपूर्ण हुने भन्दै तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्।
प्राप्त उजुरीका आधारमा साइबर ब्युरोले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। सामाजिक सञ्जालमार्फत हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रचलित साइबर कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ।
यस घटनाले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो दुव्र्यवहार, धम्की र दुष्प्रचारप्रति थप चिन्ता व्यक्त गराएको छ। विशेषज्ञहरूले यस्ता गतिविधि नियन्त्रणका लागि कडा कानुनी कार्यान्वयनसँगै प्रयोगकर्तामा डिजिटल सचेतना बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस