२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सहकारीलाई जनमुखी बनाउने सन्देशसहित काभ्रेमा दिवस आयोजना


४९९३ पाठक संख्या
  • २०८२ चैत्र २१, शनिबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले विविध कार्यक्रमहरू आयोजना गर्दै दिवस भव्य रूपमा मनाएको छ। ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने राष्ट्रिय नारासहित मनाइएको यस दिवसले सहकारी क्षेत्रलाई थप सुदृढ, उत्तरदायी र जनमुखी बनाउने सन्देश प्रवाह गरेको छ।

    संघले विगत वर्षहरूदेखि गर्दै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा उद्यमशीलता विकासलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

    शुक्रबार सम्पन्न मुख्य समारोह संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने उपप्रमुख विमला सापकोटासहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोटेले सहकारी क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको सुदृढीकरणका लागि संघले निरन्तर रूपमा नीति निर्माण, तालिम, जनचेतनामूलक कार्यक्रम तथा समन्वयात्मक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सहकारीलाई उत्पादनशील र उद्यमशीलतामुखी बनाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

    नगरप्रमुख शान्तिरत्न शाक्यले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूबारे चर्चा गर्दै समस्याग्रस्त सहकारीहरूको प्रभावले सर्वसाधारण बचतकर्तामा चिन्ता बढेको बताउनुभयो। उहाँले स्थानीय तह सहकारी क्षेत्रको नियमन, अनुगमन र व्यवस्थापनमा सक्रिय रहेको जानकारी दिँदै समस्यामा परेका सहकारीहरूको अध्ययन तथा अनुसन्धान भइरहेको स्पष्ट पार्नुभयो।

    उपप्रमुख विमला सापकोटाले सहकारी संस्थाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाले निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्दै आएको बताउनुभयो। उहाँले विशेषगरी महिलाहरूको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो।

    दिवसको अवसरमा संघले एक सातासम्म विभिन्न कार्यक्रमहरू आयोजना गरेको थियो। जसअन्तर्गत सहकारीका सञ्चालक तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा भगवान गणेश तथा लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारी झण्डोत्तोलन, वृक्षारोपण, भित्ते क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला सम्पन्न गरिएको थियो।

    यस्ता कार्यक्रमहरूले सहकारीकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको संघले जनाएको छ।

    कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंकका उपेन्द्र दाहाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यसैबीच, दिवसअन्तर्गत आयोजित फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा पाँचखालस्थित स्वेच्छा बचत सहकारी प्रथम भई नगद १५ हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भयो। त्यस्तै पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार प्राप्त गर्दा बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भएको छ।

    समग्रमा, काभ्रेमा मनाइएको सहकारी दिवसले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गराउनुका साथै यस क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र उद्यमशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार