२७ चैत, पोखरा । पोखराको व्यस्त बजार क्षेत्रमा चैत २५ गते साँझ भएको एक दर्दनाक हत्याकाण्डले स्थानीयवासीलाई स्तब्ध बनाउनुका साथै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। शिवालय चोकबाट सभागृह चोकतर्फ घर फर्किँदै गरेकी एक महिलामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरी फरार भएको थियो।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ती महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतक पोखरा–५ निवासी सिर्जना पौडेल केसी रहेको पुष्टि भएको छ। उनी पृथ्वीचोक क्षेत्रमा जुत्ता पसल सञ्चालन गर्दै आएकी एकल महिला थिइन् र उनको तीन वर्षीया छोरी छ।
प्रारम्भिक अनुसन्धानले हत्या पारिवारिक कलह र अंशसम्बन्धी विवादसँग जोडिएको देखाएको छ। चार वर्षअघि व्यवसायी कृष्ण केसीसँग विवाह गरेकी सिर्जनाले श्रीमानको दुई वर्षअघि निधन भएपछि जेठी पत्नी पक्षका छोराछोरीसँग विवाद झेल्दै आएकी थिइन्। उक्त विवाद अदालतसम्म पुगेको र अंश मुद्दा हाल विचाराधीन रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै भाञ्जालाई पक्राउ गरेको छ। उनी यसअघि लागुऔषध, चोरी तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत संलग्न रहेको खुलेको छ। प्रारम्भिक बयानमा उनले अपहेलना र हेप्ने व्यवहारका कारण हत्या गरेको बताएका छन्।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्तिहरूले दिउँसैदेखि मृतकको गतिविधि नियालिरहेका थिए। पसल बन्द गरेर घर फर्किने क्रममा सभागृह चोक नजिक सटरहरू बन्द हुँदै र प्रकाश कम भएको अवस्थालाई मौका छोपेर आक्रमण गरिएको बताइएको छ।
बीच बजारमै भएको उक्त घटनामा तत्काल अभियुक्त पक्राउ गर्न नसकिएको भन्दै स्थानीयले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्। पर्याप्त सिसिटिभी फुटेजको अभावले अनुसन्धानमा केही कठिनाइ भएको प्रहरीको भनाइ छ।
घटनामा अन्य पारिवारिक सदस्यको समेत संलग्नता हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जनाइएको छ। कारागारमा रहेका सौतेनी छोराको सम्भावित भूमिकालाई समेत अनुसन्धानको दायरामा राखिएको छ।
सिर्जनाका माइती पक्षले हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार घटनाबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिनेछ। उनले घटनामा संलग्नलाई पक्राउ गरिसकिएको र थप अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस