२९ चैत, काठमाडौं । जेडी भान्स नेतृत्वको अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामावादबाट स्वदेश फर्किएको छ। बीबीसीका अनुसार इरानसँगको महत्वपूर्ण कूटनीतिक वार्ता कुनै ठोस सहमतिविना टुंगिएपछि अमेरिकी टोली एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किएको हो।
पाकिस्तानको गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार लामो समयसम्म चलेको वार्ता अपेक्षाअनुसार परिणाममुखी बन्न नसकेपछि अमेरिकी प्रतिनिधिमण्डलले इस्लामावाद छाडेको हो। वार्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो।
इस्लामावादबाट प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति भान्सले करिब २१ घण्टा लामो गहन छलफल भए पनि अमेरिका र इरानबीच कुनै सहमति कायम हुन नसकेको स्पष्ट पारे। उनले वार्ता कठिन र जटिल रहेको उल्लेख गर्दै अमेरिकाले आफ्ना सुरक्षा चासो र नीतिगत अडानमा सम्झौता नगर्ने संकेत गरे।
यता इरानले भने वार्ताको असफलताका लागि अमेरिकालाई नै जिम्मेवार ठहर गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले ‘अत्यधिक र अव्यवहारिक मागहरू’ अघि सारेकाले सहमति हुन नसकेको प्रतिक्रिया दिएका छन्। उनले वार्ता सफल बनाउन अमेरिका आफ्नो अडानबाट लचक हुनुपर्ने धारणा व्यक्त गरे।
इरानी प्रतिनिधिमण्डलसँग निकट स्रोतलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले अमेरिका वार्ताबाट बाहिरिने पूर्वतयारीकै रूपमा सहभागी भएको आरोप लगाएको जनाएको छ। त्यस्तै अल जजिराका अनुसार इरानी पक्षले अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कमजोर बन्दै गएको प्रभाव जोगाउन मात्रै वार्ता प्रयोग गरेको दाबी गरेको छ।
स्रोतहरूका अनुसार अमेरिका–इरानबीचको सम्बन्ध पछिल्ला समयदेखि नै तनावपूर्ण रहँदै आएको छ। परमाणु कार्यक्रम, क्षेत्रीय प्रभाव विस्तार र सुरक्षा चासोका विषयमा दुवै पक्षबीच गहिरो मतभेद कायम रहँदा वार्ताले ठोस उपलब्धि हासिल गर्न नसकेको विश्लेषण गरिएको छ।
हालका लागि दुवै पक्षबीच अर्को चरणको वार्ताको कुनै स्पष्ट तालिका तय गरिएको छैन। यसले निकट भविष्यमा अमेरिका–इरान सम्बन्ध अझ जटिल बन्ने संकेत गरेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस