२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

प्वाल परेको मलका बोरा, तौलमा कमी—काभ्रेपलाञ्चोकका कृषक चिन्तित


६८९१ पाठक संख्या
  • २०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक,कृषि उत्पादनका लागि उर्बर भूमि मानिने काभ्रेपलाञ्चोकमा रासायनिक मल वितरण प्रणालीमै गम्भीर अनियमितता देखिएको छ। सरकारी अनुदानमा उपलब्ध गराइने मल कृषकसम्म पुग्ने क्रममा प्वालै प्वाल परेको बोरा, तौलमा कमी र ढुवानी लापरवाहीका कारण कृषकहरू प्रत्यक्ष मारमा परेका छन्।

    कृषकहरूको मुख्य जीविकोपार्जनको आधार कृषि भए पनि आवश्यक पर्ने मल समयमै र गुणस्तरीय रूपमा नपाउँदा उत्पादनमा गिरावट आउन थालेको छ। अझ वितरण प्रक्रियामै कमजोरी देखिएपछि कृषकहरूको आक्रोश बढ्दो छ।

    सरकारले निर्धारण गरेको व्यवस्थाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड ले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ले ३० प्रतिशत रासायनिक मल आपूर्ति गर्दै आएका छन्। सहकारीहरूले धरौटी रकम राखी स्थानीय तहको सिफारिसमा डिलर लिएर कृषकसम्म मल वितरण गर्ने प्रावधान छ। सहकारीहरूले कृषि सामग्री कम्पनीमा ७० हजार र साल्ट ट्रेडिङमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने बाध्यताले थप समस्यामा पारेको छ।

    अझ गम्भीर समस्या भने मलको ढुवानी र भण्डारण प्रक्रियामा देखिएको छ। कृषकहरूका अनुसार, लोड–अनलोडका क्रममा हुक प्रयोग गरी मलका बोरा प्वाल पारिने गरिएको छ। कतिपय बोरामा १० भन्दा बढी प्वाल देखिने गरेका छन्, जसका कारण मल बाटोमै चुहिने र खेतसम्म पुर्‍याउँदा तौल घट्ने गरेको छ।

    “पूरै पैसा तिर्दा पनि पूरा मल पाइँदैन, बोराबाटै आधा जस्तो हराउँछ,” स्थानीय कृषकहरूको गुनासो छ।गोदाममै समेत ठूलो परिमाणमा मल चुहिएको देखिए पनि त्यसको व्यवस्थापन र उपयोगबारे स्पष्टता नहुँदा थप आशंका उत्पन्न भएको छ। यसले अनुदानमा ल्याइएको मलको पारदर्शिता र प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

    यस विषयमा कृषि सामग्री कम्पनी लिमिटेड काभ्रेका प्रमुख आलोक कुमार शर्माले समस्या समाधानका लागि पहल भइरहेको बताए पनि व्यवहारमा सुधार देखिएको छैन।

    कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य रहे पनि यस्ता आधारभूत कमजोरीहरूले त्यसमा बाधा पुर्‍याइरहेको देखिन्छ। कृषकहरूले मलको नियमित आपूर्ति, तौलको सुनिश्चितता र ढुवानीमा हुने लापरवाहीमाथि कडा निगरानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यदि तत्काल सुधार नगरिए कृषकको उत्पादन, आम्दानी र समग्र कृषि प्रणालीमा दीर्घकालीन असर पर्ने देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार